नेपाल र चीन परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय बैठक बस्दै

नेपाल र चीन परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय बैठक बस्दै

भाद्र २३, २०७६
नेपाल र चीन परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय कुटनीतिकको बैठक काठमाडौंमा आज बस्दैछ । कार्यदलसहित बस्ने बैठकमा नेपाली पक्षको नेतृत्व प्रदिप ज्ञवाली र चिनियाँ पक्षको नेतृत्व समकक्षी वाङ यीले गर्नुहुनेछ । राजधानीको एक होटलमा अपरान्ह बस्ने बैठकमा आर्थिक सहकार्यसँगै दुई मुलुकबीच यसअघि भएका सहमति सम्झौताको कार्यन्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रीत हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
यस्तै बेल्ट एण्ड रोड ईनिसिएटिभ्स बीआरआई अन्तर्गतका परियोजनाको निर्माणका विषयमा पनि छलफल हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । बीआरआई अन्तर्गत नेपालले पहिचान गरेका ३५ मध्ये ९ आयोजनामा चीन सकारात्मक देखिएको छ ।
ती आयोजनाको पूर्वाधार सम्भावनाबारे कार्यदलले दिएको सुझावका आधारमा आजको बैठकमा छलफल हुने बताइएको छ । दुई मुलुकबीच परराष्ट्र मन्त्रीस्तरीय संयन्त्रको बैठकपछि केही सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकपछि चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै शिष्टाचार भेट गर्नुहुनेछ । वाङले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवासँग भोलि भेट्ने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणबारे पनि विदेशमन्त्री वाङले अध्ययन गर्ने वुझिएको छ । नेपालको ३ दिने भ्रमण सकेर वाङ भोलि बेइजिङ फर्किनुहुनेछ ।

सम्बन्धित खवर