कांग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि

कांग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि

भदौ २२, २०७६
नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । यही भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि आइतबार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रतिनिधिको नाम टुंगो लगाई खटाइएको पार्टी कार्यालयले जनाएको छ ।
प्रदेश नं १ का ५६, कर्णाली प्रदेशका २४ र सुदूरपश्चिम प्रदेशका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य, पूर्वसांसद, पूर्व्जिल्ला सभापति, प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार भइसकेका व्यक्तिलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको हो। बाँकी चार प्रदेशका लागि पनि आजै नाम टुंगो लगाई खटाइने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
अभियान विपी कोइरालाको १०६औँ जन्मजयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई आगामी असोज ७ गते समापन हुने उनले बताए। दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन्।
जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान सम्पन्न गरिने प्रवक्ता शर्माले बताए। जसअनुरूप हरेक क्षेत्रमा एकरएकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाउन लागिएको हो।
विपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरुवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियानको देशव्यापीरूपमा उद्घाटन गरिने पार्टी कार्यालयले जनाएको छ।

सम्बन्धित खवर