ओखलढुङ्गाका भूकम्प प्रभावितहरुले अझै भएन प्रवलिकरण

ओखलढुङ्गाका भूकम्प प्रभावितहरुले अझै भएन प्रवलिकरण

भदौ २२, २०७६ ओखलढुङ्गा
ओखलढुङ्गाका भूकम्प प्रभावितहरुले अझै आफ्ना घर प्रवलीकरण (मर्मत) गरेका छैनन्। आंशिक लाभग्राहीको सूचीमा परेका भूकम्प प्रभावितहरुले घर प्रवलीकरण नगरेका हुन्।
आंशिक लाभग्राहीको सूचीमा परेका लाभग्राहीमध्ये दुई हजार ४७४ ले सम्झौता गरी पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ बुझे पनि घर प्रवलीकरण गरी दोस्रो किस्ता बापतको रकम लिन नआएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुङ्गाका वित्तीय व्यवस्थापन विज्ञ खड्गबहादुर थापाले जानकारी दिए। पहाडी क्षेत्रका प्रायः घरहरु ढुङ्गामाटोले निर्माण गरिएको हुने र त्यस्ता घर प्रवलीकरण गर्दा दिगो हुने कुरामा लाभग्राहीहरु विश्वस्त नभएकाले प्रवलीकरण नगरेका खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोका बताउँछन्।
प्रवलीकरण के हो र कसरी गरिन्छ भन्ने जानकारी लाभग्राहीलाई नभएको र प्रवलीकरण गर्दा नेपाल सरकारले दिने अनुदान रकमभन्दा धेरै लाग्ने भएकाले पनि लाभग्राहीले यस्तो अवस्था आएको उनको भनाइ छ। पूर्ण लाभग्राहीको सुचीमा पर्नुपर्ने घरहरु पनि आंशिक लाभग्राहीको सूचीमा परेकाले घर प्रवलीकरण नगरिएको भूकम्प प्रभावितहरु बताउँछन्। ‘
घर पूरै धराप छ तर आंशिकमा परेको छ,’ लिखु गाउँपालिका–६ की मन्दिरा भट्टराईले गुनासो पोखिन्, ‘घर पूरै भत्काएर बनाउनुपर्ने छ, सरकारले जम्मा एक लाख दिन्छ। त्यसले पुग्दैन। कसरी घर बनाउनु?’ यता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ ओखलढुङ्गाका प्रमुख युवराज खरेलले सम्झौता गरी पहिलो किस्ता लिएका आंशिक लाभग्राहीहरुले कात्तिक मसान्तसम्ममा दोस्रो किस्ता लिइसक्नु पर्ने अन्यथा पहिलो किस्ताको रकम फिर्ता गर्नु पर्ने प्रावधान रहेको बताउँछन्।
पुनर्निर्माण सुरु भएपछिको चार वर्षमा यहाँको कुल लाभग्राहीमध्ये ८३.१७ प्रतिशतले तेस्रो किस्ता लिएका छन्। पहिचान भएका कुल २१ हजार ३६७ लाभग्राहीमध्ये १७ हजार ७७९ ले तेस्रो किस्ता लिइसकेका हुन्। दोस्रो किस्ता लिनेको संख्या १९ हजार १५६ र पहिलो किस्ता लिने २३ हजार ६८ रहेको तथ्यांक छ।
९० प्रतिशतभन्दा बढीले पहिलो किस्ता लिएका र चार वर्षमा भएको पुनर्निर्माणको अवस्था सन्तोषजनक नै भएको आयोजना प्रमुख युवराज खरेलको भनाइ छ । प्रवलीकरणतर्फ भने कुल ४ हजार ५६ लाभग्राहीमध्ये २ हजार ७७४ ले पहिलो किस्ता लिएका छन्। २०७६ असार मसान्तसम्म पनि अनुदान सम्झौता गर्न नआएर लाभग्राहीको सूचीबाट हटाइएको संख्या २ हजार ३३५ रहेका छ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई ओलढुङ्गाले सार्वजानिक गरेको तथ्यांक अनुसार जिल्लामा २१ हजार ३३८ लाभग्राही रहेकोमा हाल सम्म २० हजार ३७६ ले पहिलो किस्ता लिएका छन्। जिल्लामा ४ हजार ६५ घरधुरी आंशिक लाभग्राहीको सूचीमा परेका छन्।

सम्बन्धित खवर