पहिरोको कारण सोलुखुम्बुका चार घरपरिवार विस्थापित

पहिरोको कारण सोलुखुम्बुका चार घरपरिवार विस्थापित

२२, भदौ २०७६
अविरल वर्षासँगै आएको पहिरोका कारण सोलुखुम्बुका विभिन्न बस्तीका चार घरपरिवार विस्थापित भएका छन् ।
सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका ३ घर र माप्यदुधकोशी ६ मा एक घरपरिवार विस्थापित भएका हुन्। भदौ १४ गते निरन्तरको वर्षासँगै जमिन चिराचिरा हुँदा केरुङका नरबहादुर खड्का, पूर्णबहादुर मगर र टेकबहादुर मगरको घरपरिवार विस्थापित भएका हुन्।
पहिरो पीडित टेकबहादुर मगरका अनुसार सडक खन्ने क्रममा बस्ती र भूगोलको अवस्थालाई ध्यान नदिइँदा समस्या भएको हो । सडक निर्माण गर्दा खोल्सा कटान गरिए पनि भलको निकास नराख्दा आफूहरूको घरभित्रै भल पसेको पीडित पूर्णबहादुर मगरले बताए।
यस्तै माप्यदुधकोशी गाउँपालिका ६ रामतेलमा घर माथिको पहाड झर्दा एक घरमा पूर्ण क्षति पुगेको छ। निरन्तरको वर्षाका कारण शुक्रवार बिहान १० बजे पहाड भत्किएर आउँदा स्थानीय गङगे राईको घर पूर्ण रूपमा भत्किएको जनाइएको छ ।
घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पहिरो पीडितलाई सोलुदुधकुण्ड नगरपालिकाका ३ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले २० हजार रुपैयाँ र एउटा त्रिपाल राहत स्वरूप वितरण गरेको छ ।

सम्बन्धित खवर