अब हरेक वर्ष नोभेम्बर १ देखि शहीद स्मारक लिग आयोजना हुने

अब हरेक वर्ष नोभेम्बर १ देखि शहीद स्मारक लिग आयोजना हुने

भदौ २१, २०७६
५ वर्षसम्म हुन नसकेको शहीद स्मारक लिग गत वर्षबाट सुरु भयो। रेलिगेसन विनाको लिगको आयोजनाका कारण म्याच फिक्सिङको सम्भावना बढेको भन्दै एन्फा नेतृत्वको आलोचना पनि भयो। तर, यस वर्ष एन्फाले रेलिगेसनसहितको लिग र हरेक वर्ष आयोजना सुरु हुने मितिसमेत तय गरेको छ।
यस वर्ष लिग मंसिर २८ गतेबाट सुरु हुनेछ। तर, आगामी वर्षदेखि लिगलाई स्थायित्व दिन हरेक वर्ष नोभेम्बर १ तारिकबाट आयोजना गरिने एन्फाका प्रवक्ता किरण राईले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। राजधानीका १४ क्लबको सहभागिता रहने लिगका लागि प्रत्येक क्लबले १८र१८ जना खेलाडी दर्ता गरेको जनाइएको छ।
यस वर्षको लिगको सुरुवात मिति सार्वजनिक भए पनि कहिलेसम्म चल्ने र पुरस्कार राशिको बारेमा एन्फाले सार्वजनिक गरेको छैन्। गत संस्करणको लिग असोज १३ देखि पौष २४ गतेसम्म चलेको थियो। जसमा ९१ खेल सम्पन्न गरिएको थियो।
८ औ पटक विजेता बनेको मनाङ मर्स्याङ्दीले ५० लाख पाएको थियो। लिगमा रेलिगेसन नभए पनि अन्तिम २ स्थानमा रहने टिमको क्रमशः २ र १ अंक घटाएर आगामी लिगको तयारीका लागि २ र ३ लाख रुपैँया कम्ति दिने एन्फाले व्यवस्था गरेको थियो। प्रत्येक टोलीले तयारीका लागि गत वर्ष २० लाख रुपैयाँ पाएका थिए।

सम्बन्धित खवर