खाँदबारी खानेपानीमा अनियमितता गरेकाले बुझाए १३ लाख ९५ हजार

खाँदबारी खानेपानीमा अनियमितता गरेकाले बुझाए १३ लाख ९५ हजार

शुक्रबार, भाद्र २०, २०७६
संखुवासभा, खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ कार्यालयको रकम घोटालामा मुछिएका काउन्टर सहायकले १३ लाख ९५ हजार ४७ रुपैयाँ बुझाएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै काउन्टर सहायक सुरेश ढकालले सोमबार १३ लाख ९५ हजार ४७ रुपैयाँ बुझाएको खानेपानी समितिका अध्यक्ष नरेन्द्र राईले जानकारी दिए।
काउन्टर सहायक ढकाललाई खानेपानी बिल महशुल र नगदी रसिदबाट लाखौँ रकम हिनामिना गरेको आरोप लागेको थियो। खानेपानी कार्यालयमा आयोजनामा लाखौँ रकम अनियमितता भएको व्यापक गुनासो बढेपछि २०७५ माघ ११ गते छानबिन समिति गठन भएको थियो। छानबिन समितिले काउन्टर सहायक ढकालले १३ लाख बढी रकम घोटला गरेको भन्दै गत बैशाख १४ गते समितिलाई प्रतिवेदन बुझाएको थियो।
खानेपानीको १३ लाख बढी रकम घोटला गरेको प्रतिवेदन सार्वजनिक भएको चार महिनापछि राष्ट्रिय वाणिज्य बैकमा सोमबार रकम जम्मा भएको भौचर उपलब्ध भएको खानेपानी कार्यालयले जनाएको छ।
खानेपानी समितिले रमक बुझाउन पटकपटक म्याद थप गरेर चार महिना बितेपछि ढकालले हिनामिना गरेको रमक फिर्ता गरेका हुन्। समितिले उनलाई हिनामिना गरेको रकम बुझाउन मौखिक तथा लिखित पत्र पठाउँदा उनले उल्टै समितिका अध्यक्ष, कोषाध्यक्ष, कार्यालय प्रमुख र लेखापाललाई उच्च अदालत विराटनगर, धनकुटा इजालसमा रिटसमेत हालेका थिए।
त्यसपछि मुलुकी संहिता २०७४ को २५२ अनुसार अपराधी विश्वासघात शीर्षकमा संस्थाले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको थिए। जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको जानकारी पाएलगत्तै काउन्टर सहायक ढकालले १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम जम्मा गरेको भौचर खानेपानी कार्यालयमा बुझाएको समितिले जनाएको छ।

सम्बन्धित खवर