भाद्र २१, २०७६
एसिड प्रहारबाट घाइते भएकी पर्सामा १५ वर्षीया किशोरीको उपचारका लागि प्रदेश २ सरकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहारबाट घाइते भएकी छात्राको उपचारका लागि ५ लाख रुपैयाँ दिने घोषणा गर्नु भएको हो ।
वीरगञ्ज–३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान खातुन माथि एसिड प्रहार भएको थियो । खातनुको उपचारमा कमी हुन नदिन मुख्यमन्त्री राउतले सहयोग स्वरुप ५ लाख रुपैयाँ दिने घोषणा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारी आतिश मिश्रले बताउनुभयो ।
नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि खातुनलाई काठमाडौँ रेफर गरिएको छ । गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले वीरगञ्ज–३ छपकैया निवासी मुस्कान खातुनमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । कक्षा ९ मा अध्ययनरत छात्रामाथि एसिड प्रहारे घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाउनुभयो ।
