राष्ट्रपतिको भूमिकाप्रति राप्रपा संयुक्तको प्रश्न

राष्ट्रपतिको भूमिकाप्रति राप्रपा संयुक्तको प्रश्न

भदौ २०, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को काठमाडौंमा जारी केन्द्रीय कार्य समिति बैठकमा पार्टी नेतृत्वको चर्को आलोचना भएको छ । बैठकमा अध्यक्ष पशुपति शमशेर राणाले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमाथि धारणा राख्दै सो पार्टीका केन्द्रीय सदस्यहरुले पार्टीको नीति र सिद्धान्त ढुलमुले रहेको, सरकारप्रति जनताको वितृष्णा बढेका बेला पार्टीले नेतृत्वदायी भूमिका लिन नसकेको र राप्रपा लगायतका शक्तिहरुसँग एकताको पहलमा ढिलाई गरेको आलोचना गरेका हुन् ।
अध्यक्ष राणाले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीले राष्ट्रियता र जनजीविकाका सवालमा नेतृत्वदायी भूमिका खेल्न नसकेको तथा पार्टी एकताको तीन महिनासम्म पनि एकतालाई पुर्णता दिन नसकेको स्वीकार गरेका छन् । अध्यक्ष राणाले आफ्नो प्रतिवेदनमा राजसंस्था र हिन्दुराष्ट्रबारे भनेका छन्, ‘हामी धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रप्रति प्रतिबद्ध छौ ।’
त्यस्तै राप्रपा संयुक्तले राष्ट्रपतिको दुई कार्यकाल सन्तोषजन नभएको पनि जनाएको छ । राष्ट्रपतिबारे राप्रपा संयुक्तले भनेको छ, ‘हाम्रो संविधानले व्यवस्था गरेको राष्ट्रपतिको दुई कार्यकाल हेर्दा त्यो पदमा मुलुकको निष्पक्ष अभिभावकको गरिमामय भूमिका पार्टी निर्देशन पालना गर्ने संस्थाको स्वरुप देखिएकाले सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाको रुपमा राजसंस्थासहितको प्रजातन्त्रको पैरवी गर्ने नै छौ ।’
त्यसबाहेक सचिवालय संयोजक धु्रबबहादुर प्रधानले सचिवालय प्रतिवेदन र कोषाध्यक्ष श्याम तिमिल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा पनि केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाएका छन् । तीनवटै प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरुले राजा र राजसंस्थाप्रति पार्टीले हेर्ने दृष्टिकोण समेत अस्पस्ट भएको भन्दै थप स्पस्ट पार्न सुझाव दिएका छन् ।
त्यस्तै राप्रपा सयुक्तले राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको एकता अहिलेको आवश्यक्ता रहेको पनि प्रतिवेदनमा उल्लेख गरेको छ । बिहिबारबाट सुरु भएको बैठक आजै शुक्रबार समापन हुनेछ । यसअघि आजै दिउँसो पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गर्न लागिएको प्रवक्ता रविन चाम्लिङ राईले जानकारी दिएका छन् ।
रातो पार्टी

सम्बन्धित खवर