उपचारपछि सिंगापुरबाट फर्किए प्रधानमन्त्री

उपचारपछि सिंगापुरबाट फर्किए प्रधानमन्त्री

भदौ २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार मध्यान्ह स्वदेश फर्किएका छन्। उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका सरकारका उच्च पदस्थ अधिकारी विमानस्थलमा पुगेका थिए।
मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी गत भदौ ५ गते त्यसतर्फ गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनसँगै फर्किएका छन्। प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी थिए।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह यसअघि नै फर्किसकेका छन्। यसअघि उनी त्यही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए।

सम्बन्धित खवर