भाद्र २०, २०७६
नेपाल ओलम्पिक कमिटी एनओसीले शुक्रबार लागि तय गरेको निर्वाचन कार्यक्रम स्थागित गरेको छ । सर्वोच्च अदालतले गत मंगलबार चुनावी प्रकृया अघि नबढाउन अन्तरिम आदेश जारी गरेपछि शुक्रबार लागि तय निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सर्वोच्चको आदेश प्राप्त भएकाले अदालतको सम्मान गर्दै निर्वाचन प्रकृया हाललाई स्थगित गरिएको बताउनुभयो । सर्वोच्चले २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।
सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले छलफलका लागि दुबै पक्षलाई आगामी आइतबार उपस्थित हुन भनेको छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अदालतको आदेशको सम्मन गर्दै छलफलमा सहभागी हुन्छौं ।
भदौ २२ गतेपछि जेजस्तो परिस्थिति बन्छ, त्यसैका आधारमा अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी आईओसी र ओलम्पिक काउन्सिल अफ एशिया ओसीएलाई पत्राचार गरेर अघि बढछौं ।’
ओलम्पिकको नेतृत्वका लागि यसपटक वर्तमान अध्यक्ष श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । कोषाध्यक्षमा रतन तण्डन र उप महासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसक्नु भएको छ ।
