हंसपुर नगरपालिकाका प्रमुखमाथि ज्यान सम्बन्धी कसूर मुद्दा

हंसपुर नगरपालिकाका प्रमुखमाथि ज्यान सम्बन्धी कसूर मुद्दा

लथालिङ स्थानीय तह
भाद्र २०, २०७६
धनुषाको हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल सहित चार जना विरुद्ध ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता भएको छ । नगरप्रमुख सहित वडा नम्बर ३ का वडाध्यक्ष उदयकुमार सिंह, कार्यपालिका सदस्य श्याम राउत तथा नगरप्रमुख मण्डलका सहयोगी लालबाबु यादवमाथि ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता भएको छ
हंसपुर नगरपालिका २ बघचौडाका राजकुमार मण्डलले नगर प्रमुख मण्डलसहित चार जना विरुद्ध मुद्दा दर्ता गराएको हो । श्रावण २१ गते हंसपुर नगरपालिको केन्द्र सार्ने विवादको क्रममा नगरप्रमुख मण्डल र उपप्रमुख रेणु कुमारी झा समूह बीच हालको केन्द्र रहेको बघचौडा बाजारमा भिडन्त भएको थियो । दुई तर्फी भिडन्त साम्य पार्न परिचालन गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले समेत लाठी चार्ज गरेका थिए ।
जसमा उपप्रमुख झा, वडाध्यक्ष उदयकुमार साह सहित एक दर्जन बढी घाइते भएका थिए । भिडन्तमा ढाडको हाड भाचेर गम्भीर घाईते भएका तपेश्वर मण्डलको उपचारको क्रममा बुधबार अपरान्ह जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो । मण्डलको मृत्यु भए पछि आक्रोशित बनेका बघचौडाबासीले बुधबार अवेर राति सम्म अस्पताल अगाडि प्रदर्शन गरेका थिए । बिहीवार बिहान १० बजेदेखि नै नगर प्रमुख मण्डल र वडाध्यक्ष सिंहमाथि कडा कारबाहीको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भए लगतै मृतकका छोरा राजकुमार मण्डल, उपप्रमुख रेणु कुमारी झा लगायतका बघचौडाबासीहरु अस्पताल पुगेका थिए । राजकुमार मण्डलले पोस्टमार्डम पश्च्यात् पिताको शव बुझेर गाउँ लग्ने बताए । तर, उनले दाहसंस्कार कहिले गर्ने भन्ने विषयमा केही बोलेनन् । स्थानीयका अनुसार, शुक्रबार मृतकको शवसहित नगर परिक्रमा गरेर मात्र शवको अन्तिम संस्कार गरिने छ ।
उपप्रमुख झाले भन्नुभयो, ‘मेयरले आफ्नै जनतालाई मारेको नगरबासीले पनि देखून । यसैकारण शवलाई नगर परिक्रमा गर्ने योजना छ ।’ उजुरी दर्ता भए पनि अदालतसँग पक्राउ पूर्जी अनुमति लिएपछि मात्र कारबाही प्रक्रृया अगाडि बढाईने प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मुद्दा दर्ता भएको छ, अनुसन्धान हुन्छ अनि मुद्दा चलाईने छ ।’
मृतकप्रति समवेदना प्रगट गर्न जनकपुर अञ्चल अस्पताल पुगेका पूर्वमन्त्री रामचन्द्र झाले केन्द्र सार्ने सम्बन्धी संवैधानिक व्यवस्थालाई नजर अन्दाज गरी नगर प्रमुख मण्डलले बलजफ्ती गरेको आरोप लगाउनुभयो । उहाँले दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो ।
विवादको कारण केन्द्र सार्ने निर्णय
राष्ट्रिय जनता पार्टीको टिकटमा निर्वा्चित नगरप्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणुकुमारी झा बीचको विवाद नयाँ होईन ।
नगरप्रमुख मण्डलले दोश्रो नगर सभामा नगरपालिकाको केन्द्र सार्ने प्रस्ताव ल्याए देखि नै दुबै जना बीचको विवाद सुरु भएको हो । केन्द्र सार्ने निर्णयको विरोधमा उपप्रमुख झाले पटकपटक धर्ना र अनशन बस्नुका साथै प्रहरी प्रशासन समेत गुहार्दै आउनु भएको छ । केन्द्र सार्ने विवाद उत्कर्षमै रहेको बेला श्रावण ३ गते हंसपुर चौकमा सम्पन्न नगर कार्यपालिकाको बैठकले बघचौडामा रहेको नगरपालिकाको केन्द्र हंसपुर चौकमा सार्ने निर्णय गरेको थियो ।
यद्यपि, नगरप्रमुख मण्डलले आफूहरु केन्द्र नभई अस्थायी कार्यालय मात्र संचालन गरेको दाबी गर्दै आएका छन् । यता, उपप्रमुख रेणुकुमारी झाले भने श्रावण ३ गते साँझ बघचौडास्थित केन्द्रबाट थप फाइल तथा कागजपत्र लैजान नपाओस भन्दै कार्यालयमा तालाबन्दी गरेका थिए ।
तर, बघचौडाबासीहरुले भने अस्थायी कार्यालय जहाँ खडा गरे पनि नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत साविक केन्द्रमै बस्नु पर्ने अडानमा थिए बघचौडाका भरत सहिनी लगायतले नगरप्रमुख मण्डलको केन्द्र सार्ने निर्णय विरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा हाले र उच्च अदालत जनकपुरले श्रावण २८ गते अन्तरकालीन आदेश जारी गर्दै केन्द्र यथास्थितीमा राख्ने आदेश सुनाएको थियो ।
कान्तिपुर

सम्बन्धित खवर