पथरी, जंगली हात्तीबाट बारम्बार पिडीत वन्दै आएको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० को जिरिखिम्ती टोलमा पछिल्लो पटक जंगली हात्तीले आधादर्जन बढी घरमा क्षति पुर्याएको र सो क्षतिका बारेमा नगरका जनप्रतिनिधिहरुले अवलोकन गरेका छन् ।
नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनादेवी फूयाँल आचार्य सहितका जनप्रतिनिधिहरुले गएराती जंगली हात्तीले क्षति पुर्याएका घरहरुको अवलोकन गर्नुभयो ।
दक्षिणतिरको वस्तीमा आएको एउटा जंगली हात्तीले खडानन्द खतिवडाको घरको एकातर्फको गारो नै भत्काएको छ । त्यसैगरी, यामबहादुर मगरको पक्का घरको गारो, पुष्प दर्जीको जस्तापाताको भित्तो र शौचालय भत्काएको छ । इन्द्रबहादुरकार्कीको काठे बेरा भत्काएर मकै समेत खाएको छ ।
४ वटाको समूहमा आएको हात्तीले उत्तरतिरको वस्तीका धनिमाया राईको घरको बेरा भत्काएको छ । गोपाल घिमिरे र नरबहादुर कटुवालको समेत पक्का घरको गारोमा केही क्षति पुर्याएको वडा सदस्य अनोज घिमिरेले जनाउनु भयो ।
हात्तीले त्रास फैलाएर घरहरुमा क्षति पुर्याउन थालेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । हात्ती नजिकैको जंगलतर्फ लागेको छ । जंगल नजिकैको सो वडाको जिरिखिम्ती, ऐयावारी सहितका क्षेत्रमा हात्तीले आतंक सिर्जना गर्र्दै आएको छ ।