स्वास्थ्य विमा कार्यक्रम सुरु

स्वास्थ्य विमा कार्यक्रम सुरु

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकामा आजदेखि स्वास्थ्य बिमाको कार्यक्रम सुरु भएको छ ।

नगर प्रमुख दिलिपकुमार राईले उपप्रमुख यमुना विष्ट वास्तोलालाई स्वास्थ्य बिमा कार्ड वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको हो ।

सो अवसरमा, नगर प्रमुख राई सहितका कार्यपालिका सदस्य तथा कर्मचारीहरुले आफ्नो पारिवारिक स्वास्थ्य बिमा कार्ड लिनु भएको छ ।

पथरी स्वास्थ्य चौकीलाई पथरी नगर अस्पतालका रुपमा परिणत गर्दै एमबीबीएस डाक्टर समेत नगरमा उपलब्ध भएपछि सोही अस्पताललाई बिमाको प्रमुख विन्दु मानेर बिमा कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख राईले जानकारी गराउनु भयो ।

उहाँले बिमा सहयोगीहरुसँग कुराकानी गर्दै प्रभावकारी रुपमा सवै वडामा बिमा कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिनुभयो ।

प्रत्येक वडामा १/१ जनाका दरले नियुक्त भएका बिमा सहयोगीहरुले वडा वडाका घर घरमा गएर परिवारका लागि स्वास्थ्य बिमा गराउने छन् ।

बिमाका लागि वडा नम्वर १ मा उमा अधिकारी, २ मा रञ्जु गुरुङ, ३ मा मनिता राई, ४ मा निर्मला पोखरेल भट्टराई, ५ मा सावित्रा ढकाल, ६ मा रमला घिमिरे, ७ मा आरती लिम्बू, ८ मा रीता खड्का, ९ मा पार्वती राय र १० मा रिना वस्नेत सहयोगी कर्मचारीका रुपमा नियुक्त हुनुभएको छ ।

बिमाका लागि ५ जनासम्मको परिवारमा वर्षको ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपचारका लागि वर्षको २ हजार ५ सय रुपैयाँ विमा स्वरुप अग्रिम जम्मा गर्नुपर्नेछ । ५ जना भन्दा बढी परिवार भएमा सो रकममा प्रति सदस्य ४ सय २५ का दरमा रकम थप गर्नुपर्ने प्रावधान रहेको छ । यसको अधिकतम सीमा १ लाखसम्मको हुनेछ । यसको अवधि १ वर्षको हुने र अरु वर्षमा पुन सो रकम नविकरण गर्नुपर्ने हुन्छ ।

अति विपन्नका लागि सरकारले शुल्क व्यहोरेर निशुःक उपचार गर्नेछ । विपन्नलाई ७५ प्रतिशत र गरिवीको रेखामुनी रहेकालाई विमा गर्नुपर्ने रकममा ५० प्रतिशत छुट दिइन्छ ।

प्लाष्टिक सर्जरी गरेको, लागू पदार्थ सेवन गरी घाइते भएको, आपसी झैझगडा गरेको, कृत्रिम गर्भाधान गरेकोलाई विमा उपचार नहुने प्रावधान बनाइएको छ ।


सम्बन्धित खवर