बारा, पर्साका हुरी पीडितलाई घर हस्तान्तरण गर्दै सेना

बारा, पर्साका हुरी पीडितलाई घर हस्तान्तरण गर्दै सेना

 

भदौ १८, २०७६ बारा
गत चैत्र १७ गते बारा र पर्सामा आएको हुरीका कारण विस्थापित भएका पीडितलाई सरकारले आज घर हस्तान्तरण गर्न लागेको छ। नेपाली सेनाको जनता आवास कार्यदलले निर्माण गरेको घर कार्यहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले घरको स्थलगत निरीक्षण गरी साचो हस्तान्तरण गर्ने कार्यक्रम नेपाली सेनाले तय गरेको छ। सेनाले बारामा ८ सय ७ र पर्सामा ६२ वटा घर हुरीपीडितलाई घर निर्माण गरेको छ। घर हस्तान्तरण गर्न मन्त्री पोखरेल बुधबार बिहान बारा आउने नेपाली सेनाले जानकारी दिएको छ। सेनाका अनुसार मन्त्री पोखरेलले हुरीपीडितका लागि बनेका घरको निरीक्षण गरी वीरगञ्जको भिस्वा होटलमा आयोजना हुने कार्यक्रममा साचो हस्तान्तरण गर्नेछन्। हुरी प्रभाबितका लागी घर निर्माण गर्न बनाईएको जनता आवास कार्यदलको नेतृत्व गरिरहेका नेपाली सेनाका सहायक रथी बिनय बिक्रम राणाले सबै पिडितहरुको घर निर्माण सम्पन्न भएको जानकारी दिए। उनका अनुसार दुबै जिल्लाका कुल आठ सय ६९ घरको निर्माण कार्य सकिएको छ। घर निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २१ चैत २०७५ को बैठकले सेनालाई जिम्मेबारी दिएको थियो। त्यसको एक महिना पछि गत वैशाख २१ गते उपप्रधानमन्त्री पोखरेल र उपेन्द्र यादबसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रदेश प्रमुख र मुख्यमन्त्री गरि १२ जनाले बारा र पर्साको १२ स्थानबाट एकै साथ हुरीपीडितको घर निर्माणको शिलान्यास गरेलगत्तै सेनाले काम थालेको हो। हुरीले बारा र पर्सामा ठूलो क्षति पु¥याएपछि चैत्र २१ गते मन्त्रिपरिषद् बैठकले हुरीपीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सो निर्णयपछि बारा र पर्सामा आएका नेपाली सेनाले बैशाख २१ गते शिलान्यास भएपछि घर निर्माणको काम थालेका थिए। घर निर्माणका लागि बारामा मात्रै झण्डै तीन हजार सेना खटिएका थिए। सेना १२ समूह बनाएर घर निर्माणमा जुटेका थिए।
लागत ११ प्रतिशत बचत
सेनाले जनता आवासको डिजाईन अनुसार दुई कोठा एक भान्साघर र एक शौचालयसहितको घर निर्माण गरेको हो। सरकारले प्रती घर पाँच लाख ४५ हजार नौ सय ८५ रुपयाँ ८८ पैसाका दरले रकम निकासा गरेको थियो। सोही परिधिभित्र रहेर प्राप्त डिजाईन अनुसार कम लागतमा आकर्षक घर निर्माण गर्ने योजना बनाएको सेनाले सरकारले तोकेको रकममा समेत ११।१९ प्रतिशत बचत गर्न सफल भएको छ। कन्टिन्जेन्सी र निर्माण समाग्रीबाट प्रति घर ६१ हजार ९७ रुपयाँ २५ पैसा बचत भएको कार्यदलका ईन्जिनियर सेनानी महेन्द्र सिजापती थापाले जानकारी दिए। उनका अनुसार प्रती घर निर्माणमा जम्मा चार लाख ८४ हजार आठ सय ८८ रुपयाँ खर्च भएको छ।
प्राकृतीक प्रकोप प्रतिरोधी
हुरीले घरबारबिहिन भएकाहरुको पुनर्वासका लागी बनाएका घरहरु प्राकृतीक प्रकोप प्रतिरोधी रहेको दाबी सेनाले गरेको छ। उत्कृष्ट निर्माण सामाग्री प्रयोगबाट प्राकृतीक प्रकोप प्रतिरोधी, वातावरणमैत्री र आकर्षक डिजाईनमा घर निर्माण गरिएको कार्यदलका ईन्जिनियर सेनानी महेन्द्र सिजापती थापाले बताए। निर्माण भएका घरहरु भुकम्प र हुरी बतास प्रतिरोधी, अबिरल वर्षाले असर नगर्ने, सजिलै आगो नलाग्ने र तराईको गर्मिबाट नतात्ने किसिमका रहेको भन्दै सेनानी थापाले घरहरुको खपत अवधी ५० बर्ष रहने बताए। त्यसैगरी बन बिनास नगरी पर्यावरण जोगाउने उद्देश्यले युपीभिसीका झ्याल ढोका प्रयोग गरेर घर निर्माण गरिएको उनले बताए।
अभिलेखमा छुटेको गुनासो
बाराको परवानिपुर, प्रसौनी र फेटा लगायत क्षेत्रका हुरी पीडित दर्जनौ घर निर्माण हुन नसकेको भन्दै कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलको ध्यानाकर्षण गराईएको छ। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाराका सचिव सुन्दर बिक नेकपा नेता अमर यादव, उमेश कुशवाह, अनिल कुशवाहा, राम पाल यादव परवानिपुर गाउँ पालिका वडा ४ अध्यक्ष गजेन्द्र पटेल मन्त्रालय पुगेर छुटेको घर निर्माणबारेमा मन्त्रीसंग छलफल गरेका थिए। जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा अभिलेख गर्ने क्रममा राजनीतिक पूर्वाग्राही भएर अभिलेखमा नाम छुटाएको भन्दै परवानीपुरका पीडितले आन्दोलन समेत गरेका थिए।
थाहाखबर

सम्बन्धित खवर