लोप हुँदै ‘तितेमाछा’

लोप हुँदै ‘तितेमाछा’

भदौ १७, २०७६
पाँचथरको उत्तरपूर्वी क्षेत्रका विभिन्न खोलाहरूमा पाइने रैथाने जातको तितेमाछा लोप हुन थालेका छन् । खोलामा लुकिछिपि करेन्ट लगाउने चलन बढ्नु, अत्यधिक बाढीपहीरो जानु, बिकास निर्माणका काम गरिँदा मूल पुरिनु जस्ता कारणले तितेमाछा लोप हुन थालेका हुन् ।
जिल्लाको याङवरक गाउँपालिकास्थित इङ्वाखोला, मेवाखोला, खोङ्खोला, कावेली खेला फालेलुङ गाउँपालिकाको नुवाखोला लगायतका खोलाहरूमा तितेमाछा पाइन्छन् । हातको बुढी औंलाभन्दा ठूलो नहुने तितेमाछाको जीवनचक्र अनौठो किसिमको छ ।
फूल पार्ने सिजन भएपछि यी माछा रमितै लाग्ने गरी हुल बाँधेर खोलाको शिरतिर उक्लिने याङवरक–२, फलैंचास्थित तिम्तिम्बुका समीर बेघा बताउँछन् । यसरी खोलाको शिरतिर उक्लिएका तितेमाछा मूल (फूल पार्ने ठाउँ) मा पुगेर फुल पारेपछि उसरी नै फर्किने बेघाले बताए ।
तितेमाछा आउने क्रम घटेपछि २०३० सालदेखि लगाइँदै आएको तितेमाछा मार्ने टेन्डर यो साल नलगाइएको याङवरक–२, का वडा अध्यक्ष देउकुमार योङहाङले बताए । तत्कालीन गाउँ पञ्चायतले शुरु गरेको टेन्डर गाउँ विकास समिति हुँदै आदिवासी जनजाति महासङ्घ गाउँ समन्वय परिषदले टेन्डर लगाउँदै आएको थियो
गत वर्ष भने गाउँपालिकाले ७० हजार रुपैंयाँमा टेन्डर आह्वान गरेको थियो । तर माछा आउने क्रम घटेकाले कोही पनि टेन्डर हाल्न नआएको बताइएको छ ।
तितेमाछा मासिदै गएकाले विगत दुई वर्षदेखि मध्य सिजनमा पनि तितेमाछा आउन छाडेको विगतका वर्षहरूमा माछा मार्ने ठेक्का लिंदै आएका याङवरक–२, का सन्त बेघाले बताए ।
यी रैथाने माछा लोप हुने क्रम शुरु भएपछि स्थानीय सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन् । तितेमाछा संरक्षणका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको याङवरक–२, का वडा अध्यक्ष योङहाङले बताएका छन् ।

सम्बन्धित खवर