पथरी स्वास्थ्य चौकी नगर अस्पतालमा परिणत, एमविविएस डाक्टर सावन मेहेतालाई स्वागत

पथरी स्वास्थ्य चौकी नगर अस्पतालमा परिणत, एमविविएस डाक्टर सावन मेहेतालाई स्वागत

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको वडा नम्वर २ मा रहेको पथरी स्वास्थ्य चौकी एमबीबीएस डाक्टर सहित अस्पतालमा परिणत भएको छ ।

नगरपालिका कार्यालय र स्वास्थ्य चौकी व्यवस्थापन समितिले आज एमबीबीएस डाक्टर सावन मेहेतालाई स्वागत गर्दै स्वास्थ्य चौकी अस्पतालमा परिणत भएको जानकारी गराएको हो ।

नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिकराम काफ्ले, पथरी अस्पतालका अध्यक्ष एवम् नगर प्रवक्ता यामप्रसाद गुरागाईं, स्वास्थ्य संयोजक मुरारी आचार्य सहितका जनप्रतिनिधि र कर्मचारीले डाक्टर मेहेतालाई नगरपालिका कार्यालयमा स्वागत गरेका थिए । त्यसपछि स्वास्थ्यचौकीको बोर्डलाई अस्पतालमा रुपान्तरण गर्दै डाक्टर मेहेतालाई अस्पतालमा पनि स्वागत गरिएको थियो । सरकारले केही दिनमै अर्का एमबीबीएस डाक्टर साकार घर्तीलाई समेत सो अस्पतालमा पठाउने निर्णय गरेको नगर प्रमुख राईले जनाए ।

नगरपालिका कार्यालयको पहलमा संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट १५ शैयाको अस्पतालको प्रक्रियामा अगाडी बढेको छ । तत्कालका लागि ५ शैयाको अस्पताल सञ्चालन गर्न सरकारमार्फत एमबीबीएस डाक्टर मेहेताको दरवन्दी तय हुनपुग्यो ।

नगर प्रमुख राईको अगुवाईमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्रराज डोटेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलसँगको कुराकानीपछि डाक्टर मेहेतालाई खटाउने निर्णय भएको थियो । पथरीशनिश्चरे नगरपालिकाको पाँचौ नगरसभामा तत्कालै एमबीबीएस डाक्टर राखेर ५ शैयाको अस्पताल सञ्चालन गरिहाल्ने निर्णय पारित भएको थियो ।

वडा नम्वर २ मा नवनिर्मित स्वास्थ्य चौकीका लागि स्थानीयले करोडौंको जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्वास्थ्य चौकी भवन निर्माणका लागि हालका जग्गा खोजविन समिति संयोजक राईले ३ कठ्ठा, सुनेहाङ सवेहाङले ३ कठ्ठा, घनश्याम गिरी, श्रीनारायण ढकाल, केशवप्रसाद दहाल र जद्धु शाहले १/१ कठ्ठा गरी १० कठ्ठा जग्गा स्वास्थ्य चौकीलाई रजिष्ट्ेशन गरिदिएका थिए । होमबहादुर गुरुङ, छविलाल अधिकारी, मानवहादुर थापामगर, यज्ञप्रसाद ढुंगेल र टेकबहादुर गुरुङले समेत १०/१० धुर जग्गा दिने सहमति जनाएका थिए । त्यसयता अस्पताल नै बनाउने अभियान थालिएपछि संयोजक राईले २ कठ्ठा, केशव दहालले १ कठ्ठा, होमबहादुर गुरुङले १० धुर, श्रीनारायण ढकालले १० धुर जग्गा थप गर्ने सहमति गरेका छन् । उनीहरुका साथै टंक गिरी र लालबहादुर राईले १५/१५ धुर, डेगेन्द्र राई, सन्तोष ढुंगेल, खड्गमाया लिम्बूले १०/१० धुर, जंगीप्रसाद राईले ६ धुर, मानबहादुर थापा, छविलाल अधिकारी र मोहन खत्रीले ५/५ धुर जग्गा दिने कवुलियत गरिसकेका छन् । माधव कोइराला, जद्धु शाह, खगेन्द्र थापा, मनोज भट्टराई, केर्खाली कान्छा सहितसँग थप जग्गा मागको निर्णय भएको छ ।

पथरी चोकबाट २ किलोमिटर दक्षिणमा स्वास्थ्य मन्त्रालयको वजेटमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत १ करोड १४ लाखमा २ तले भवन निर्माण भई त्यहाँ स्वास्थ्य चौकी सञ्चालन भएको छ ।


सम्बन्धित खवर