नेपालमै पहिलो पटक झापामा, लोपोन्मुख मेचे भाषामा पठनपाठन सुरु

नेपालमै पहिलो पटक झापामा, लोपोन्मुख मेचे भाषामा पठनपाठन सुरु

भदौ १७, २०७६
नेपालमै पहिलो पटक झापा जिल्लाको हल्दीबारीमा लोपोन्मुख मेचे भाषामा पठनपाठन सुरु भएको छ । तराईका जिल्लाहरूमा फाटफुट रूपमा बसोबास गर्दै आइरहेका मेचे जातिको बाहुल्यता झापा जिल्ला नै हो।
हल्दीबारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६र०७७ को बजेट, नीति तथा कार्यक्रममै लोपोन्मुख मेचे जातीको भाषा, धर्म र संस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम ल्याएको हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले जानकारी दिए।
मेचे जातीको नीति कार्यक्रमलाई अघि सार्दै गाउँपालिका ४ स्थित दीपेन्द्र प्राथमिक विद्यालयमा मेचे भाषाको पठनपाठन सुरु गरेको हो। एक महिनाअघिदेखि नै विद्यालयमा मेचे भाषामा पठनपाठन सुरु भएको र तीन दिनअघि गाउँपालिकाले किताब उपल्बध गराएको विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यले जानकारी दिए।
हाल सो विद्यालयमा १३१ जना विद्यार्थी अध्ययनरत रहेको ५५ जना विद्यार्थी मेचे समुदायको रहेको विद्यालयका प्रधानाध्यापक बताए। उनका अनुसार मेचे भाषा पठनपाठन गराउने गाउँपालिकाले विद्यालयलाई २ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ।
उनले भने। कक्षा १ का लागि तयार पारिएको मेचे भाषाको पुस्तक अन्य कक्षामा अध्ययन गर्ने मेचे जातीका विद्यार्थीलाई समेत पढाउँदै आएको मेचे भाषा शिक्षक सुनिता मेचेले बताइन्। मेचे भाषाको व्यञ्जन १७ तथा स्वर वर्णन ५ रहेको बताउँदै प्रअ आचार्यले भने, ‘भाषा अध्ययन गर्न चाहने जुनसुकै समुदायका विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाएका छौं।’
यस विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको बताउँदै उनले भने, ‘एसीसहितको वाल विकास कक्षा समेत सञ्चालन गरिएको र आउँदो शैक्षिक सत्रदेखि विद्यार्थी संख्यामा समेत सुधार आउने विश्वास लिएका छौं।’ गाउँपालिकाले दीपेन्द्र प्राविमा सुरु गरिएको मेचे भाषाको पठनपाठन नेपालमै पहिलो पटक भएको गाउँपालिका अध्यक्ष लिङदेनको दाबी छ। साबिक जलथल गाविसमा एक हजार पाँच सय बढी मेचे समुदाय मासिन बसोबास गर्दै आइरहेको उनको भनाई छ।

सम्बन्धित खवर