नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशको टोली ब्यवसाय प्रवद्र्धनका लागि ईलाममा

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशको टोली ब्यवसाय प्रवद्र्धनका लागि ईलाममा

१७ भाद्र २०७६, मंगलवार
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले पुर्बमा ब्यवसाय प्रवद्र्धनको बारेमा छलफल गरेको छ । इलाम उद्योग वाणिज्य संघ, इलाममा कृषि व्यवसायको प्रवद्र्ध्धन र संभावित लगानीका क्षेत्रका विषयमा अन्तरक्रिया भएको हो ।
प्रदेश १ का प्रदेश सांसद रामवहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा महासंघका अध्यक्ष नरेन्द्रकुमार खडकाले कार्यक्रममा सहभागीहरुको स्वागत गर्दै प्रदेशमा कृषिको उत्पादन वृद्धि, रोजगारीका सिर्जना एवम् निर्यातका सम्भावनालाई सघाउ पुर्याउने गरी सरकारले सहजीकरणका नीति र प्रावधानहरु ल्याउनु पर्ने बताए । सार्बजनिक र नीजि क्षेत्रको साझेदारीमा लगानीका अवसरहरु खोजी गर्दै लगानी वृद्धि तर्फलाग्नु पर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अविनाश बोहराले खाद्यन्न उत्पादन मार्फत आयात प्रतिस्थापन र निर्यात योग्य नगदेबालीहरुका क्षेत्रमा लगानी गरी व्यापार सन्तुलन गर्नु पर्ने धारणा व्यक्त गरे । कृषि उत्पादनको ब्राण्डींग, बजारीकरण, विमा तथा बजार पूर्वाधारको बजार लेखाजोखा गरी लगानी क्षेत्र पहिचान र प्रवद्र्धधन गर्नु पर्नेमा जोड दिए ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउतले सरकारले र्सार्वजनिक नीजि साझेदारी विकासको मोडलमा काम गर्ने परिपाटी बसाल्नु पर्ने उल्लेख गर्दै चिया, अलैची, अुदवा, सुपाडी, चिरैतो, फलफूल, तरकारी आदि वस्तुहरुको प्रवर्द्धन गरी निर्यात बढाउनु पर्ने बताए ।
यसको व्यवसायीक तथा औद्योगिककरणका लागि विशेष तालिमको व्यवस्था गर्नु पर्ने, उन्नत जातको विउ विजन, मलखाद सिंचाइ, आधुनिक प्रविधिहरुको व्यवस्थापन गर्नु पर्ने, कृषि तथा उद्योग स्थलसम्म सडक सन्जाल फैलाउनुका साथै उत्पादित सामानहरुलाई व्यापारीक केन्द्रहरुमा संकलन केन्द्रको स्थापना र प्रशोधन सहितको आधुनिक भण्डारणको स्थापना गर्नु पर्ने राउतको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का तर्फबाट लगानीका अवसरहरुका वारेमा अध्ययन गरि रहेका अर्थशास्त्री डा. अर्जुन बरालले प्रदेश नं. १ मा कृषि क्षेत्रमा लगानी वृद्धिका लागि देखिएका सवल पक्ष, दुर्वल पक्ष, चुनौती, नीतिगत व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
इलाम नगर पालिकाका मेयर पशुपति बस्नेतले इलाममा लगानीका हिसावले डेरी, चिया र किवि उत्पादन उपयुक्त रहेको उल्लेख गर्दै स्थानीय सरकारले यसका लागि सहजीकरण गर्न तयार रहेको वताए । कृषिमा यान्त्रीकरण र आधुनिक प्रविधिमा लगानी वृद्धि गर्नु पर्ने उनको भनाई छ ।
प्रदेश सांसद रामवहादुर मगरले कृषि पुर्वाधारमा लगानी बढाउनु पर्ने, नीजि क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने किसिमका नीति र प्रावधानहरुको व्यवस्था गर्न प्रदेशले आवश्यक पहल गर्ने, तरकारी, सजिवन, दुग्ध, चिया, अलैंची, कफिका क्षेत्रमा पनि लगानी अवसरहरु खोजी गर्नु पर्ने र यसका ब्लकहरुको विकास गरी लगानी केन्द्रित गर्नु पर्ने बताए । कृषि उपको आन्तरिक बजार र तथा बाहृय निर्यातका प्रतिस्पर्धात्मक क्षेत्रहरु पहिचान र प्रवर्द्धन गर्न जोड दिनु पर्ने , कृषि पर्यटन, फलफुल र स्वदेशी उद्योगका लागि चाहिने कच्चा पदार्थ उत्पादनमा जोड दिनु पर्ने, सामुहिक पुजीको निर्माण गरी लगानी अभिबृद्धि गर्न जोड दिनु पर्ने उल्लेख गरे ।
छलफल कार्यक्रममा इलाम जिल्ला समन्वय समितिका संयोजक गणेश बराल, इलाम उद्योग वाणिज्य संघकी पुर्ब अध्यक्ष सुशिला सापकोटा, सुर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राइ, सहज कार्यक्रमका कोअर्डिनेटर विष्णु काफ्ले लगायत कार्यक्रममा सहभागी कृषक व्यवसायीहरुले कृषिको उत्पादकत्व वृद्धि, व्यवसायीकरण, औद्योगिकरण र बजारीकरण सुनिश्चित गर्न भूमि बैंक, करार खेती, यान्त्रीकिकरण, अक्सन, कोल्ड स्टोर, वेयरहाउस लगायतका कृषि बजार पुर्वाधारका लागि आवश्यक नीति तर्जुमा गरी यसलाई लगानी र वित्तीय सेवासँग जोड्नु पर्नेमा जोड दिए ।
महासंघको बैठक ईलाममा
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को कार्य समितिको सातौ बैठक ईलाममा सम्पन्न भएको छ । महासंघका अध्यक्ष नरेन्द्रकुमार खडकाको अध्यक्षतामा इलाममा भएको उक्त बैठकले संघीय सरकारले लागू गरेको कर नीति लगायत महासंघको आगामी कार्यक्रमका विषयमा छलफल भएको थियो । बैठकले केहि उद्योग प्रतिष्ठानलाई एसोसिएट्स सदस्यता दिने निर्णय पनि गरेको छ ।
यस अघि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ले विर्तामोड उद्योग वाणिज्य संघ, झापामा पनि छलफल कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यस्तै धनकुटा र उदयपुरमा पनि लगानीका अवसर विषयमा अन्तरक्रिया गरिने महासंघका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए ।
साभार ः ओबि

सम्बन्धित खवर