सहाराको जग्गा फिर्ता

सहाराको जग्गा फिर्ता

भदौ १४, २०७६
मोरङको बेलबारीस्थित सहारा परिवार नेपाल सहारा बालग्रामको व्यक्तिको नाममा गएको जग्गा पुनः सहाराकै नाममा फिर्ता भएको छ ।
सहाराको १ बिगाहा ८ कठ्ठा ३ धुर जग्गा खरिद गरेका इटहरीका व्यवसायी डम्बरबहादुर तामाङले शुक्रबार दिउँसो सहाराको नाममा जग्गा फिर्ता गरिदिएका हुन् । सहाराको नाममा जग्गा फिर्ता गर्ने प्रक्रियाका लागि सहाराको तर्फबाट प्रतिनिधि भीमराज बस्नेत मालपोत कार्यालय बेलबारी पुगेका थिए । बस्नेतले तामाङबाट जग्गा फिर्ता गर्ने आवश्यक प्रक्रिया पु¥याउन भूमिका निर्वाह गरेका थिए ।
सहाराका तर्फबाट १ करोड रुपैयाँको मूल्य कायम गरेर जग्गा किन्ने निर्णय पुस्तिका र प्रतिनिधि तोकिएको पत्रका आधार प्रक्रिया अघि बढाइएको थियो । जग्गा फिर्ता प्रक्रियाका लागि लाग्ने आवश्यक कर छुटका लागि बेलबारी नगरपालिकाले पत्रसमेत लेखिदिएको थियो । नगरपालिकाको पत्रको आधारमा १ करोड मूल्याङ्कनको सो जग्गाको लाग्ने जम्मा करमा ५० प्रतिशत छुट गरी २ लाख रुपैयाँ राजस्व समेत बुझाइएको छ । सो राजस्व पनि व्यवसायी डम्बर तामाङले नै तिरेका छन् ।
गत २०७५ मङ्सिरमा जिल्ला अदालतको आदेशका आधारमा तामाङको नाममा गएको जग्गा ९ महिनापछि पुनः संस्थाकै नाममा आएको हो । सहाराको नाममा फिर्ता भएका ६ वटा टुक्रा जग्गाहरूको कित्ता नम्बर पुरानै रहने भएको छ ।
साविक हरैँचा ५ ख हाल बेलबारी २ का कित्ता नम्बर १०७८ को ५ कठ्ठा, कित्ता नम्बर ७८५ को ७ कठ्ठा, कित्ता नम्बर १०८३ को ३ कठ्ठा, कित्ता नम्बर १०८१ को ४ कठ्ठा, कित्ता नम्बर १०९० को ५ कठ्ठा, कित्ता नम्बर ८१९ को ४ कठ्ठा ३ धुरसमेत गरी जम्मा १ बिगाहा ८ कठ्ठा ३ धुर जग्गा सहारा परिवार नेपालकै नाममा फिर्ता भएको हो । अब सहाराको जम्मा जग्गा १ बिगाहा ९ कठ्ठा कायम भएको छ । नेकपाका नेता एवम् पूर्वसांसद् हर्कमान तामाङ, सहाराका वर्तमान अध्यक्ष शिवप्रसाद बराललगायतकै मिलेमतोमा सहाराको जग्गा डम्बरबहादुर तामाङको नाममा गएको थियो ।
यसैबीच सहाराको जग्गा बिक्री काण्डमा आफ्ना नेताको नाम मुछिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर सङ्गठन कमिटी बेलबारीले गठन गरेको छानबिन समितिले काम अन्तिम चरणमा पुर्याएको छ । पार्टीको जिल्ला कमिटी सदस्य एवम् बेलबारी नगरसचिव रविन थापाको संयोजकत्वमा बनेको समितिले आज(शनिबार) नगर कमिटीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ भने नेपाली काङ्ग्रेस, समाजवादी पार्टीलगायत बेलबारीका विभिन्न सङ्घ–संस्थाहरूले भने जग्गा बिक्रीको विरुद्धमा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
ब्लाष्टखबर

सम्बन्धित खवर