रङ्गेली अस्पतालमा बिरामीलाई सास्ती

रङ्गेली अस्पतालमा बिरामीलाई सास्ती

भदौ १४, २०७६
गर्भवती अवस्थाकी मोरङ रतुवामाई नगरपालिकाकी ३५ वर्षीया कुमारी ऋषिदेव अल्ट्रासाउण्ड गराउन सोमबार रङ्गेली अस्पतालमा पुगिन् ।
पेटभित्र भएको बच्चा र स्वास्थ्य अवस्था जानकारी लिन उनी स्वास्थ्य जाँच गराउन पुगेकी थिइन् । एक सातामा तीनपटक मात्र अल्ट्रासाउण्ड हुने अस्पतालका कर्मचारीले जानकारी दिएपछि त्यस दिन रङ्गेली अस्पतालमा उनको अल्ट्रासाउण्ड हुन सकेन ।
घरदेखि ६ किलोमिटर दूरीमा रहेको रङ्गेली अस्पतालमा अल्ट्रासाउण्ड गराउन आएकी कुमारी समय खर्चेर विराटनगरमा आएर स्वास्थ्य जाँच गराउन बाध्य भइन् स्थानीय अस्पतालमा उपचार गराए समयको बचत र खर्च पनि कम हुने उद्देश्यले आएकी कुमारी रङ्गेलीदेखि करिब २५ किलोमिटर दूरीमा रहेको विराटनगरको एक निजी अस्पतालमा आएर अल्ट्रसाउण्ड गराउन बाध्य भइन् ।
रङ्गेली अस्पतालमा अल्ट्रासाउण्ड गराउने उपकरण भए पनि कन्सल्टेण्ट रेडियोलोजिष्टको दरबन्दी नहुँदा कुमारी मात्र होइन, यहाँ आउने सयौं बिरामी निजी अस्पतालमा गएर स्वास्थ्य जाँच गराउन बाध्य छन् । एक सातामा तीन पटक मात्र यस अस्पतालमा विराटनगरबाट आएका कन्सल्टेण्ट रेडियोलोजिष्टबाट अल्ट्रासाउण्ड हुने भएकोले बिरामीहरू समय खर्चेर विराटनगरमा आउन बाध्य भएका हुन् ।
पहिला जिल्ला अस्पताल रहेको उक्त अस्पताल अहिले स्थानीय तह अन्तर्गत रहने गरी रङ्गेली अस्पताल भएको छ । कन्सल्टेण्ट रेडियोलोजिष्टको दरबन्दी नहुँदा अस्पतालले स्वास्थ्य जाँच गराएको आम्दानीको आधाभन्दा बढी पैसा चिकित्सकलाई दिने सम्झौता गरी विराटनगरबाट चिकित्सक ल्याएका हुन् । आइतबार, मङ्गलबार र बिहीबार मात्र कन्सल्टेण्ट रेडियोलोजिष्टबाट अल्ट्रासाउण्ड हुने गरेको छ । अल्ट्रासाउण्ड गराएको पाँच सय रुपैयाँमध्ये तीन सय रुपैयाँ विराटनगरबाट आएका चिकित्सकलाई दिने गरिएको छ भने दुईसय रुपैयाँ अस्पतालले राख्ने गरेको छ ।
भनेको बेलामा अल्ट्रासाउण्ड नहुनाले सास्ती भोग्नुपरेको विराटनगर अस्पतालमा भेटिएकी खिनाकुमारी सरदारले बताइन् । ‘हप्तामा तीन पटक मात्र रङ्गेली अस्पतालमा अल्ट्रासाउण्ड हुने गरेको छ’ उनले भनिन्, ‘त्यो पनि बिहान मात्र । यति ठूलो अस्पतालमा दैनिकरूपमा सेवाग्राहीले चाहेको बेला अल्ट्रासाउण्ड नहुँदा समस्या छ ।’ सातामा तीनपटक अल्ट्रासाउण्ड गराउँदा बिरामीको भीड पनि अत्यधिक हुने गरेको उनले बताइन् ।
‘सबै बिरामीलाई एकै दिन बोलाउने गरिएको छ’ उनले भनिन्, ‘त्यसले गर्दा पालो आउन पनि धेरै समय लाग्ने गरको छ ।’ स्थानीयले अल्ट्रासाउण्ड गराउने चिकित्सकको दरबन्दी कायम गराएर दैनिक रूपमा उपचार गराउन माग राख्दा पनि हालसम्म सुनुवाइ हुन सकेको छैन ।
यता अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर कटुवालले दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको बताए । जिल्ला अस्पताल रहँदा ४५ जनाको दरबन्दी रहेकोमा अहिले घटेर २८ जनाको दरबन्दी रहेको छ ।
‘त्यो पनि अहिलेसम्म दरबन्दीअनुसार चिकित्सक आएका छैनन्’ उनले भने, ‘भएका कर्मचारी पनि समायोजनमा गएपछि ३ जना मेडिकल अफिसरले हाल सेवा दिँदै आएका छन् ।’ उनका अनुसार सातामा तीनपटक अल्ट्रासाउण्ड हुने गरेको बताए । दिनमा ४५–५० जनाको अल्ट्रासाउण्ड हुने गरेको जानकारी दिए । दैनिक २ सयजना सेवाग्राहीले सेवा लिने गरेको उनले बताए ।
ब्लाष्टखबर

सम्बन्धित खवर