धरानमा मात्र डेङ्गु सङ्क्रमित ३ हजार ३ सय इपिडिमियोलोजीको तथ्याङ्कमा सुनसरीमा ३ सय ३१ जनामात्रै

धरानमा मात्र डेङ्गु सङ्क्रमित ३ हजार ३ सय इपिडिमियोलोजीको तथ्याङ्कमा सुनसरीमा ३ सय ३१ जनामात्रै

भदौ १३, २०७६
धरानमा गत वैशाख २९ गतेयता फैलिएको डेङ्गु भाइरस नियन्त्रण गर्न नसकेपछि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले महामारी भएको घोषणा गरिसकेको छ । बिहीबारसम्ममा धरानमा मात्र सङ्क्रमितको सङ्ख्या ३ हजार ३ सय पुगिसकेको छ । तर सरकारको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने धरान, वराहक्षेत्र, इटहरी, इनरुवासहित सुनसरीभरिमा भदौ ११ सम्ममा ३ सय ३१ जनामात्र डेङ्गु सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
सुनसरीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दिनदिनै बढेपछि प्रत्येक साताको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरू, सरकारी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले साप्ताहिकरूपमा नियमित तथ्याङ्क पठाउने गरेको छ ।
महाशाखाले किन यस्तो तथ्याङ्क सार्वजनिक ग¥यो रहस्यमय भएको छ । महाशाखाले ३९ जिल्लाको तथ्याङ्कलाई प्रदेशअनुसार विभाजन गरेर कुल १ हजार ५ सय ३७ जना डेङ्गु रोगी भएको जनाएको छ । उक्त तथ्याङ्कबारे धरानमा हालै गठित डेङ्गु नियन्त्रण समितिको बिहीबारको भेलामा पनि चर्चा चलेको थियो । भेलाका सहभागीहरूले महामारीको रूप लिएको बेला महाशाखाले यति थोरै तथ्याङ्क कसरी सार्वजनिक गरेको हो भनेर धेरैले आश्चर्य व्यक्त गरेका थिए ।
र्या्पिड रेस्पोन्स टिमका संयोजक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. विजयकुमार खनालले उक्त तथ्याङ्क बीपी प्रतिष्ठानमा उपचार गरी डिस्चार्ज भएका डेङ्गुका बिरामीहरूको रहेको हुनसक्ने बताए । उनले डेङ्गुका बिरामीको तथ्याङ्क सरकारी अस्पतालमा भर्ना भएकाहरूको मात्र भएकाले थोरै देखिएको हुनसक्ने बताए ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजीको उक्त तथ्याङ्क गत साउनदेखि भदौ ११ गतेसम्मको मात्र भएको बताए । तर गत साउन महिनाको २० गते नै धरानमा डेङ्गु पीडितको सङ्ख्या ७ सय नाघेको थियो ।
ब्लाष्टखबर

सम्बन्धित खवर