भ्रातृ एवं शुभेच्छुक संगठनका विषयमा ठोस निर्णय गर्ने कांग्रेसको तयारी

भ्रातृ एवं शुभेच्छुक संगठनका विषयमा ठोस निर्णय गर्ने कांग्रेसको तयारी

भाद्र १३, २०७६
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सक्ने तयारी गरिएको छ । छलफलका लागि तय भएका १४ एजेण्डाको निष्कर्ष निकाल्दै गत असार २२ गतेबाट सुरु भएको बैठक आज सक्ने तयारी भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । राजनीतिक प्रस्तावमाथि शीर्ष नेताहरुको धारणासँगै भ्रातृ एवं शुभेच्छुक संगठनका बिषयमा पनि निचोड निकाल्दै बैठक सक्ने गरी तयारी भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
भ्रातृ संगठनको विधान सम्बन्धी प्रस्तावमा पनि ठोस निष्कर्ष निकाल्ने सो पार्टीले जनाएको छ । यसअघि हिजो बसेको बैठकमा सह–महामन्त्री प्रकाशशरण महतले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमा आज शीर्ष नेताहरुले धारणा राखेपछि बाँकी रहेका बिषयका छलफल पनि आजै सक्ने कांग्रेसको तयारी छ ।
कांग्रेसको राजनीतिक प्रस्तावले संवैधानिक निकायहरुमा अनावश्यक दबाव सृजना गरी स्वतन्त्र र निष्पक्ष काम गर्ने अवस्था अन्त्य भएको भन्दै त्यसलाई रोक्न सरकारलाई आग्रह समेत गरेको छ ।

सम्बन्धित खवर