सीमा नाका भद्रपुर र काँकडभिट्टाका प्रहरीलाई नयाँ गाडी

सीमा नाका भद्रपुर र काँकडभिट्टाका प्रहरीलाई नयाँ गाडी

भदौ १२, २०७६ भद्रपुर
नेपाल प्रहरी संगठनले झापामा दुईवटा नयाँ गाडी पठाएको छ। भारतको सीमावर्ती नाकासँग जोडिएको वडा प्रहरी कार्यालय भद्रपुर र इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई नयाँ गाडी पठाएको हो। प्रहरी संगठनले पठाएका दुईवटा टाटा कम्पनीको गाडी मंगलबार साँझ झापा आइपुगेका प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
दुवै झापाको मुख्य नाका भएको र हाल भएको गाडी जीर्ण अवस्थामा रहेकोले विभागले नै गाडी पठाइदिएको उनले बताए। नयाँ गाडी आएपछि सीमाक्षेत्रको शान्ति सुरक्षामा थप सहयोग पुग्ने उनले बताए। वडा प्रहरी कार्यालय भद्रपुरमा रहेको गाडी कामै नलाग्ने अवस्थामा पुगिसकेको थियो।
२०६४ को निर्वाचनमा वडा प्रहरी भद्रपुरलाई प्रहरी संगठनले नयाँ गाडी पठाएको थियो। तर, प्रहरी कार्यालय झापाले नयाँ गाडी आफ्नै कार्यालयमा राखेर सोही कार्यालयमा रहेको पुरानो गाडी भद्रपुरलाई पठाएको थियो। पुरानो गाडी भद्रपुरलाई पठाएपछि भद्रपुरका प्रहरीलाई गाडी पाल्नै हम्मेहम्मे परेको थियो।
जीर्ण गाडी त्यसमाथि पार्टपुर्जासमेत नपाउने गाडी महिनामा कम्तीमा १० दिन बिग्रिएर थन्किन्थ्यो। ‘बल्ल भद्रपुरमा नयाँ गाडी विभागले नै पठाइदिएको छ’, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले भने, ‘अब नगरको शान्ति सुरक्षामा थप सहयोग पुग्ने भयो, पुरानो गाडी बिग्रँदा गस्तीमा हिँड्ने प्रहरीलाई समस्या हुन्थ्यो, कुन बेला गाडी बिग्रिन्थ्यो थाहा नै नहुने।’ गत आर्थिक वर्षमा वडालाई दुईवटा नयाँ मोटरसाइकल पनि उपलब्ध भएको छ, उनले भने।
थाहाखबर

सम्बन्धित खवर