दैनिक २०० विद्यार्थीलाई खाजा खुवाउँदै झापाका एक युवा

दैनिक २०० विद्यार्थीलाई खाजा खुवाउँदै झापाका एक युवा

भदौ १२, २०७६ भद्रपुर,
‘धन भएर केही हुँदैन, मन ठुलो हुनुपर्छ, मन ठुलो भए दान गर्ने इच्छा शक्ति आफैमा जाग्छ,’ यस्तै दानवीर दाताको रूपमा झापा भद्रपुरका एक युवा स–साना विद्यार्थीका माझ अभिभावक भएर उभिएका छन्।
सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकास कक्षाका विद्यार्थीलाई दैनिक खाजा खुवाउँदै आएको थियो। सरकारले गत आर्थिक वर्ष ०७५र७६ को साउन देखि बाल विकास कक्षाका विद्यार्थीलाई दिँदै आइरहेको खाजा खर्चको रकम कटौती गरेको छ। बाल विकासका विद्यार्थीका खाजा खर्च बापत सरकारले विद्यार्थीको सङ्ख्या अनुसार विद्यालयलाई रकम निकासा गर्दै आइरहेका थिए।
सोही रकमबाट विद्यालयले बाल विकास कक्षामा अध्ययनरत गरिब, दलित तथा सीमान्तकृत विद्यार्थीलाई खाजा खुवाउँदै आइरहेका थिए। सरकारले रकम कटौती गरेपछि विद्यालयले विद्यार्थीलाई खुवाउन छाड्न बाध्य भए।
विद्यालयले खाजा खुवाउन छाडे लगतै बाल विकासमा पढ्न आउने विद्यार्थीको सङ्ख्या समेत घटन थाल्यो। सरकारले दिँदै आइरहेको खाजा खर्चको रकम कटौती गरेको थाहा पाएपछि भद्रपुर नगरपालिका ५ बस्ने युवा व्यापारी सञ्जय घोष भद्रपुरस्थित गौतम बुद्ध प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अभिभावक भएर अगाडि आए।
युवा व्यापारी घोषले आफ्नो एकल लगानीमा गौतम बुद्ध प्राविका बाल विकासदेखि कक्षा ५ सम्मका दुई सय विद्यार्थीलाई विगत तीनमहिनादेखि खाजा खुवाउँदै आइरहेका छन्। उनले जेठ १ गतेदेखि विद्यार्थीलाई खाजा खुवाउन थालेका हुन्।
विद्यालयका पूर्व्विद्यार्थी समेत रहेका ४० वर्षीय व्यापारी घोषले भने, “सरकारले खाजा दिन बन्द गरेको ढिलै थाहा भयो, म विद्यालयको पूर्व्विद्यार्थी पनि हुँ, सामुदायिक विद्यालयमा गरिब तथा सीमान्तकृत विद्यार्थीहरू मात्र पढ्न आउँछ, उनीहरूको अभिभावक भएर म आफै अगाडि बढेको हुँ।”
‘मासिक २० देखि २२ हजार रुपैयाँ खाजा खुवाउन खर्च हुन्छ, पैसा ठुलो कुरा होइन, मन हुनुपर्छ, विद्यार्थीको अवस्था हेर्दा मनले थाप्न सकेन, त्यही भएर कमाइको केही रकम विद्यालयमा अध्ययनरत स–साना बालबालिकाका लागि खर्च गर्छु,’ उनले थपे ।
मैले विद्यालयमा खाजा खुवाउन थालेपछि यहाँका अरू युवाहरूमा पनि म जस्तै भावना जागेको मैले बुझेको बताउँदै उनले भने, ‘विद्यालयमा खाजा खुवाउने कार्यक्रमलाई निरन्तरता दिने प्रयासमा छौ।’ २०५८ सालदेखि विद्यालयमा बाल विकास कक्षा सञ्चालन आएको विद्यालयका प्रधानाध्यापक जयन्ती मानीले जानकारी दिइन्।
‘सरकारले गत आर्थिक २०७५र०७६को साउनदेखि खाजा बापत दिँदै आइरहेको रकम कटौती गरेको हो’, उनले भनिन्, ‘एक्कासि खाजा कटौती गर्दा विद्यार्थीहरूलाई समस्या हुने हुँदा शिक्षकहरूकै लगानी विद्यालयले मङ्सिरसम्म बाल विकासमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई खाजा खुवाएऔं।’ तर, त्यसरी धान्न नसकेपछि विद्यालयले पुसदेखि खाजा खुवाउन छाडियो।
‘पूर्व विद्यार्थी सञ्जय घोष वैशाखको अन्तिममा विद्यालय घुम्दै आए, विद्यालयको समस्याको बारेमा बुझेपछि मैले खाजा बन्द भएको कुरा राखे गए, त्यसको भोलि पल्ट नै सञ्जयले खाजा खुवाउने खाद्यन्न सामग्री खरिद गरेर विद्यालयमा लिएर आए र फेरि विद्यार्थीलाई खाजा खुवाउन थाले, मानीले भनिन्।
विद्यालयले खाजा खुवाउन छाडेपछि विद्यार्थी सङ्ख्या घटन थाल्यो, खाजा खुवाउन सुरु भएको अभिभावकले थाहा पाएपछि फेरि विद्यार्थी सङ्ख्या बढ्यो। ‘सरकारको लगानी हुँदा बाल विकासका विद्यार्थीलाई मात्र खाजा खुवाउँदै आइरहेका थियौ’,
उनले भनिन्, ‘लगानी दाता सञ्जयले बाल विकासलाई मात्र होइन, सम्पूर्ण विद्यार्थीलाई खाजा खुवाउनुहोस्, सबै खर्च म दिन्छु भनेपछि सबै विद्यार्थी खाजा खुवाइरहेका छौ।’
एक दिनमा खाजा खर्चमा एक हजार खर्च हुने गरेको बताउँदै मानीको भनाइ छ, ‘विद्यालयका सहयोगी कर्मचारी र शिक्षक आफैले खाजा पकाउँछन र वितरण गर्छन।’ ‘सञ्जय भाइ जस्तो दाताहरू सेवाको भावना लिएर यसरी अगाडि बढे हरेक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर आफै फेरिने मानीको दाबी छ।
थाहाखबर

सम्बन्धित खवर