भोजपुरमा भाइरल ज्वरोले विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द

भोजपुरमा भाइरल ज्वरोले विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द

१२ भाद्र २०७६,
भाइरल ज्वरोले विद्यालयका २०२ जना विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ ।
भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका कक्षा मङ्गलबारदेखि ४ दिनका लागि बन्द गरिएको विद्यालयका सहायक प्रधानाध्याक श्रीकृष्ण बोगटीले जानकारी दिनुभयो ।
यसबाहेक स्थानीय षडानन्द माध्यमिक विद्यालय, न्यू समिट बोर्डिङ र सनराइज बोर्डिङ स्कुलका विद्यार्थीमा समेत ज्वरोको असर देखिएको छ ।
भाइरलले विद्यार्थी एकपछि अर्को गर्दै बिरामी हुनथालेपछि पठनपाठन बन्द गर्नुपर्ने बाध्यता भएको सहायक प्रअ बोगटीको भनाइ छ ।
विद्यालयामा केही दिनअघिदेखि शुरु भएको भाइरल ज्वरोले विद्यार्थीसँगै स्थानीयवासीलाई ग्रसित बनाएको छ
दैनिकजसो प्राथमिक स्वास्थ्य केन्द्रमा ५० देखि ६० जना र अन्य स्वास्थ्य चौकीमा ३० देखि ४० जनाको हाराहारीमा भाइरलका बिरामी आउने गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार गम्भीर किसिमका बिरामीलाई त्यहाँबाट तुम्लिङटार, धरान, विराटनगर पठाइएको छ ।
भाइरल ज्वरोबाट दिङ्लाका अन्य तीन विद्यालयका विद्यार्थीसमेत बिरामी भएको विद्यालयले जनाएको छ ।
मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा दैनिक १५ जनासम्म भाइरलका बिरामीले बहिरङ्ग सेवा लिइरहेको अस्पतालले जनाएको छ ।
दूषित खानेपानी, बदलिँदो मौसम र खानपानमा राम्रो ध्यान नदिँदा भाइरलको बिरामी आउने गरेको जिल्ला अस्पताल भोजपुरका डा शिवजी रिजालले बताउनुभयो । रासस

सम्बन्धित खवर