भदौ ११, २०७६
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले सोमबार जिल्ला भेला तथा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङ र सचिव रामकृष्ण ब्लोन तामाङले सहजीकरण गरेका थिए । भेलामा तथा प्रशिक्षण कार्यक्रममा धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा गठित गाउँपालिका र नगरपालिका घेदुङका अध्यक्ष, सचिव एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङले कुनै पनि जातिको भाषा, संस्कार, संस्कृति बचाउने मुख्य आधार नै राजनीति भएको बताए ।
उनले सामाजिक आन्दोलनमा भुलिरहेको तामाङ समुदायलाई राजनीतिक आन्दोलन बदल्नुमा घेदुङको मुख्य भूमिका रहेको बताए । तामाङले राजनीतिक स्कुलिङ नजान्ने मान्छेहरू क्रान्तिदेखि डराउने बताउँदै अहिले तामाङ समुदायमा राजनीतिक स्कुलिङको अभाव रहेकोले देशव्यापीरूपमा घेदुङ राजनीतिक जागरणको अभियानमा जुटिरहेको बताए ।
उनले घेदुङको राष्ट्रिय महाधिवेशन आगामी ०७६ फागुन २४ देखि २६ गतेसम्म काठमाडौं या धरानमा सम्पन्न गर्ने गरी तयारी भइरहेको बताए । उनले घेदुङले देशव्यापीरूपमा नयाँ विधान र नयाँ संरचना अनुरूप गाउँपालिका, नगरपालिकास्तरमा घेदुङ गठन र जिल्ला भेला गरिरहेको पनि स्पष्ट पारे ।
उनले जिल्ला भेला, गाउँपालिका र नगरपालिकामा भेला अधिवेशन आगामी मङ्सीरभन्दा पहिले नै गरेर मङ्सीरमा हुने प्रदेश महाधिवेशनमा सहभागी भई राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सम्पूर्ण तामाङ घेदुङ र तामाङ समाजलाई आग्रह गरेका छन् ।
