सहारा जग्गा बिक्री प्रकरण ः नेकपाले बनायो छानबिन समिति

सहारा जग्गा बिक्री प्रकरण ः नेकपाले बनायो छानबिन समिति

भदौ ११, २०७६
मोरङको बेलबारीमा रहेको सहारा बालग्रामको जग्गा बिक्री प्रकरणको छानबिन गर्न नेकपा बेलबारी नगरले छानबिन समिति बनाएको छ ।
संस्थाको विधान र प्रचलित कानूनविपरीत संस्थाको जग्गा बिक्री गरिएको भन्दै नेकपा बेलबारीले पनि विरोध जनाएको छ । नेकपा बेलबारीको मङ्गलबार बसेको नगर पार्टीको कार्यालय टिम र जिल्ला सदस्यहरूको बैठकले जिल्ला सदस्य रविन थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
छानबिन समितिलाई पाँच दिनभित्रमा सहाराको जग्गा बिक्री प्रकरणको विषयमा प्रतिवेदन बुझाउने जिम्मा दिइएको नेकपा बेलबारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जग्गा बिक्री प्रकरणमा पार्टीका जिम्मेवार नेताहरूको संलग्नता रहेको हुँदा उनीहरूको दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्ने विज्ञप्तिमा उल्लेख छ । सहाराको बिक्री भएको जग्गा संस्थाकै हक कायम गर्न सम्बन्धित पक्षलाई सचेत पनि गराएको छ । साथै सहारा बालग्रामभित्र बसोबास गर्ने परिवारजनलाई अविचलित भई त्यहीँ बस्न पनि आह्वान गरिएको छ ।
नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी र सचिव रविन थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा छानबिनको क्रममा दोषी देखिएमा जुनसुकै तहका नेता तथा कार्यकर्ता भए पनि कारबाही गरिने उल्लेख छ ।
ब्लाष्टखबर

सम्बन्धित खवर