भ्रमण वर्ष सफल पार्न साइकल–यात्रा

भ्रमण वर्ष सफल पार्न साइकल–यात्रा

मङ्गलबार, १० भदौ २०७६
जनकपुरधामका एक युवाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जनकपुरदेखि सगरमाथा सम्मको साइकल–यात्रा सुरू गरेका छन्। नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र नेपाली–नेपालीबीच सद्भाव बढाउने उद्देश्यका साथ जनकपुरधामका ३२ वर्षीय युवा रञ्जीत साहले साइकल–यात्रा आरम्भ गरेका हुन्।
रञ्जीतले ‘तराई पहाड हिमाल हाम्रो मातृभूमि नेपाल’ नाराका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्मको साइकल–यात्रा आरम्भ गरेका हुन्। सोमबार बिहानै जानकी मन्दिरमा पूजार्चना गरी रञ्जीतले मिथिलाको पहिचान झल्कने पोशाकमा यात्रा सुरू गरेका छन्। सोमबारबाटै साइकल–यात्रा आरम्भ गरे पनि रञ्जीत सिन्धुलीस्थित कालिञ्चोक भगवती र राजधानी काठमाडौंमा पशुपतिनाथ महादेवको पूजापश्चात् सिन्धुलीको खुर्कोट पुगेर मात्रै औपचारिक रूपमा यात्रा आरम्भ गर्नेछन्।
पहिलो चरणमा साइकलबाट सगरमाथाको आधार शिविरसम्म साइकलबाट यात्रा गर्ने लक्ष्य राखेका रञ्जीतको दोस्रो चरणमा सगरमाथा आरोहण गर्ने लक्ष्यसमेत रहेको छ। यसअघि दर्जनौं स्थानमा उनले साइकलबाटै यात्रा गरिसकेका छन्। उनले २०७२ साल भदौ २१ गते जनकपुरधामदेखि काठमाडौंको पशुपतिनाथसम्म २ सय ५० किलोमिटरसम्मको यात्रा एक दिनमै तय गरेका थिए। सोही वर्ष असोज ७ गते जनकपुरधामदेखि हलेसी महादेव खोटाङसम्म साधारण साइकलले यात्रा गरी इतिहास कायम गरेका थिए।
त्यस्तै २०७४ सालमा मुस्ताङको मुक्तिनाथ, २०७५ सालमा जनकपुरधामदेखि भारत उत्तर प्रदेशको अयोध्या हुँदै लखनऊसम्म साइकलबाट धार्मिक यात्रा, सोही वर्ष चैत महिनामा ताप्लेजुङको पाथीभराको भ्रमण साइकल–यात्रा गरिसकेका छन्। वर्षको ११ महिना जनकपुरधामस्थित बसपार्कमा पान पसल चलाउँदै आएका रञ्जीत एक महिना कुनै नयाँ स्थानको भ्रमणका लागि साइकल–यात्रामा निस्कने गरेका छन्।
मधेस आन्दोलन चलिरहेको बेला काठमाडौंबाट आएका एक जना साथीलाई साइकलबाटै लिन बर्दिवास पुगेको स्मरण गर्दै रञ्जीत देशमा शान्ति र भाइचाराको सन्देश दिन आफूले साइकल–यात्रा गर्ने गरेको बताउँछन्। नेपाली समाजमा तिक्तता बढिरहेको समयमा सोही तिक्ततालाई कम पार्न आफूले मधेसबाट पहल गरेको उनले सुनाएका छन् ।
नागरिक न्युज

सम्बन्धित खवर