भदौ १०, २०७६
नेपाल ओलम्पिक कमिटि (एनओसी) मा चुनावी चहलपहल बढेको छ। नयाँ नेतृत्वका लागि यही भदौ २० गते निर्वाचन हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार सोमवार अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
जसअनुसार एनओसीको नयाँ नेतृत्व चयनका लागि २७ जनाले मताधिकार प्राप्त गरेका छन्। राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशवकुमार विष्टले समेत नेपाल उसु महासंघबाट मताधिकार लिएका छन्।
आज बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्याईएको छ भने दिउँसो ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने एनओसीको निर्वाचन समितीले जनाएको छ।
आगामी बिहीवार दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोहि दिन दिउँसो ३ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितीले भदौ २० गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तय गरेको छ।







