कांग्रेस पार्टी पुनर्संरचनामा दोलखा पहिलो

कांग्रेस पार्टी पुनर्संरचनामा दोलखा पहिलो

आइतबार, ०८ भदौ २०७६,
संघीयतापछि नयाँ संरचनाअनुसार कांग्रेसमा पुर्नसंरचना सम्पन्न गर्ने पहिलो जिल्ला दोलखा बनेको छ। संघीयतापछि मुलुक पुनर्संरचना भइसक्दा पनि आन्तरिक संरचना बदल्न नसकेको कांग्रेसले देशैभरि पुनर्संरचना गर्न जिल्लामा आउँदो साताबाट बल्ल प्रतिनिधि खटाउने तयारी थाल्दै गर्दा दोलखा कांग्रेसले भने जागरण अभियानका क्रममा ३ महिनाअघि नै वडा, गाउँपालिका नगरदेखि क्षेत्रसम्मको पुनर्संरचना सम्पन्न गरेको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दोलखाले मातहतका आफ्ना सबै समिति सर्वसम्मत पुनर्संरचना गरेर गठन गरेको छ। ‘दोलखामा सबै काम सर्वसम्मतिबाटै टुङ्गिएको जानकारी आएको छ,’
पौडेलले भने, ‘त्यसलाई केन्द्रबाट खटिने प्रतिनिधिले अनुमोदन गरेपछि मात्र वैधानिकता पाउनेछ।’ उनले देशभरि पुनर्संरचना र मातहतका समिति समायोजनसहितको कामकाजका लागि मंगलबारसम्म देशैभरि जिल्लामा प्रतिनिधि खटाइने सुनाए। खटिने प्रतिनिधिले पार्टी मातहतका समिति र एकाइ गठन गर्ने र सोहीअनुसार केन्द्रले अनुमोदन गर्ने पौडेलले सुनाए।
दोलखा कांग्रेसले वैशाख २५ देखि जेठ २५ गतेसम्म चलेको जागरण अभियानका क्रममा जिल्ला भर नयाँ संरचना अनुसार पार्टीका समिति गठन गरिसकेको छ। ९ ओटा स्थानीय तह र ७४ वडा रहेको जिल्लामा नयाँ संरचनाअनुसार सबै समिति बनिसकेका छन भने महासमितिले पारित गरेको नयाँ विधानअनुसार स्थानिय कमिटी समायोजन र पूरा भएका छन्।
सहयोग ः नागरिक

सम्बन्धित खवर