श्रीमान(श्रीमतीको जस्तै अध्यक्ष ओलीसँगको भनाभन ः माधव नेपाल

श्रीमान(श्रीमतीको जस्तै अध्यक्ष ओलीसँगको भनाभन ः माधव नेपाल


भदौ ६, २०७६
नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन्।
सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरूले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रूपमा लिन आग्रह गरेका हुन्।
विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टी्भित्र वादविवाद भइरहने भन्दै नेता नेपालले त्यसलाई श्रीमान श्रीमतीको घर झगडाको रूपमा बुझ्न पनि सुझाव दिएका हुन्।
झगडा भयो भनेर वैवाहिक जीवन प्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
उनले, ’फूलको आँखामा फूलै संसार, काँडाको आखैमा काँडै संसार’ भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामर्थ्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए।
प्रधानमन्त्री तथा अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बिहान बसेको सचिवालय बैठकमा विवाद भएको थियो। जहाँ उनीहरूले एकअर्काप्रति कडा शब्दमा प्रहार गरेका कुरा सार्वजनिक भएका थिए। जसलाई लिएर आज नेता नेपालले जवाफ दिएका हुन्।

सम्बन्धित खवर