पार्टीमा अनुशासन भएन,प्रचण्ड

पार्टीमा अनुशासन भएन,प्रचण्ड


६ भदौ,२०७६
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु अनुशासनमा नरहेको टिप्पणी गरेका छन् । पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको प्रचण्डको भनाइ छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सचिवालय बैठकमा चर्काचर्की भएको भोलिपल्ट प्रचण्डले अनुशासनको विषय उठाएका हुन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको बताए । उनले भने, ‘हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं । आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौं ।’
‘सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी’ उल्टिएर अहिले व्यक्तिगत निर्णय, जिम्मेवारी समूहले लिइदिनुपर्ने अवस्था उत्पन्न भएको उनले बताए । प्रचण्डले यसलाई सच्याउनुपर्नेमा जोड दिए ।
बिहीबार प्रधानमन्त्री ओली सिंगापुर जानुपूर्व बालुवाटारमा पार्टीको सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा केपी ओली र माधव कुमार नेपालबीच भनाभन भएको थियो । वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्दा ओलीले तपाईको शुभकामना चाहिँदैन भनेपछि दुई नेतावीच भनाभन भएको थियो ।
त्यसअघि नेकपाका केन्द्रीय सदस्यद्वय सूर्य थापा र रामप्रसाद सापकोटावीच सामाजिक सञ्जालमै भनाभन र झगडा भएको थियो ।

सम्बन्धित खवर