प्रधानमन्त्री केपी शर्मा ओली फेरि सिंगापुर जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली फेरि सिंगापुर जाँदै


५ भदौ, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएका छन् । सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लागेका हुन् ।
चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् । यसअघि पनि उनले त्यही स्वास्थ्य परीक्षण गराएका थिए । अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि नौ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री ओली यसपटक कति समय त्यहाँ रहन्छन् भन्नेबारे केही पनि बताइएको छैन । उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए ।

सम्बन्धित खवर