जनमुखी बचतबाट गएराती सवा ५ लाख चोरी

जनमुखी बचतबाट गएराती सवा ५ लाख चोरी

मोरङ, जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट गएराती सवा ५ लाख चोरी भएको छ । कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी साकोसबाट ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको हो ।

साकोसको पूर्वपटिको झ्यालको पल्ला फुटाएर झ्यालको ग्रिल समेत उप्काएको पाइएको छ । झ्यालबाट भित्र पसेर सेभ फुटाएर सो बराबरको रकम चोरी गरेको पाइएको हो । बचत परिचालक रमेश शिवाकोटीले आइतबार विहान ७ बजे संस्था खोल्दा भित्र तोफोड भएको देखेपछि चोरी बारे अरुलाई खवर गरेका थिए । शिवाकोटी साकोसको हिसाबका लागि विहानै कार्यालयमा आएका थिए ।

चोरको समूहले कार्यालयमा जडान गरेको सिसि क्यामेराको तार काटेर हार्डडिक्स पनि लगेको पाइएको छ । चोरले सिसि क्यामेराको तार काटेर हार्ड डिक्स लानुका साथै सेभको चाबी लगाउने ठाउँबाट फोडेर रकम चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर रामबहादुर ढकालले बताए ।

कार्यालयको भित्रको सामान त्यति छरिएको अवस्थामा नभएकोले यहाँ चोरी गर्ने चोर पेसेवर रहेको र जस्तो सुकै भएपनि चोर पत्ता लगाएरै छाड्ने इस्पेक्टर ढकालले बताए । इलाका प्रहरी कार्यालय पथरीको टोलीले विहानै चोरी भएको स्थलमा पुगी अनुसन्धान अघि बढाएको छ ।

शनिबार बेलुका १२ बजेदेखि आइतबार विहान २ बजे सम्म चोरी भएको हुन सक्ने स्थानीयहरुले बताएका छन् । साकोसको पछाडी भागमा फर्निचर र होटल पनि संचालनमा छ । आगामी असोज ४ गते हुने २७ औं साधारण सभाको तयारीको लागि संस्था संचालक समितिको केही पदाधिकारीहरु शनिबार पनि रातको १० बजे सम्म बसेका संस्थाको उपाध्यक्ष हरि कोइरालाले बताएका छन् ।

सम्बन्धित खवर