पार्टी एकता गर्दा सबै विकल्प समाप्त पारेकोमा चिन्ता छ ः प्रचण्ड

पार्टी एकता गर्दा सबै विकल्प समाप्त पारेकोमा चिन्ता छ ः प्रचण्ड

काठमाडौं, सबै विकल्प समाप्त गरेर पार्टी एकता गरेकोमा चिन्ता लागेको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको दाहालले बताए ।

शनिवार काठमाडौंमा राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आयोजना गरेको कार्यक्रममा दाहालले अब एकता सुदृढ नभए देश सफल नहुने बताए । देश र जनताका लागि काम गर्न नसके कम्युनिस्ट आन्दोलन पनि सफल नहुनेमा दाहालको जोड थियो ।

‘कहिलेकाहीँ यसो (पार्टी एकता) नगरेको भए बरु कहिँ न कहिँ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ, सबै विकल्प सकेर हामी सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता छ’ दाहालले भने ।

अहिले यही चिन्ताले अप्ठेरो भन्दा अप्ठेरो समस्या पनि हल गर्दै गएको प्रचण्डले बताए । उनले शुक्रबारको सचिवालय समितिको निर्णय पनि त्यस्तै अप्ठेरो निर्णय भएको बताए ।

विगतमा युद्ध गर्दा गणतन्त्र ल्याउन सक्दैनन् भनेको स्मरण गर्दै अहिले पनि पार्टी एकता टिकाउन नसक्ने भन्ने टिप्पणी भएको प्रचण्डले बताए । उनले भने ‘ पार्टी एकता त सम्भव नै भन्थे हामीले गर्‍यौं । तर हेर्दै जानुहोला अब सुदृढ एकता सहित राष्ट्रलाई हाँक्ने पार्टी बन्नेछ ।’

सम्बन्धित खवर