वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

वरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको असनमा वि।सं। २००३ सालमा गायिका नूरा देवीको कोखबाट जन्मिएकी उनको शनिबार निधन भएको हो। अधिकारीको शनिबार बिहान ८ बजे निजी निवास डल्लुमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए।

आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन्। उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो। उनको निधन पनि गाइजात्राको एक दिनपछि भएको छ। २०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ हो। यसपछि उनले नाट्य अभिनयमा लामो समय बिताएकी थिइन्।

बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटक उनले अभिनय गरिन्। उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ हो। निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनित उनको पहिलो फिल्म हो। यसमा उनले हरिप्रसाद रिमालकी पत्नीको भूमिका खेलेकी थिइन्।

यो फिल्ममा अभिनय गर्दा उनी २२ वर्षकी थिइन्। शुभद्राले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसूत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत चलचित्रमा अभिनय गरेकी छन्। उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको कलाकार संघले जनाको छ।
सहयोग थाहा खबरबाट

सम्बन्धित खवर