भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

भारतकी भूतपूर्व विदेशमन्त्री एवं भारतीय जनता पार्टीकी बरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ । स्वराजको ६७ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मंगलबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पु¥याएका थिए । स्वराजले मंगलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहेको बताइएको छ ।

स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुगेका थिए ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले मंगलबार दिउँसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै यो कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई समेत दिएकी थिइन् ।

‘प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिएँ’ स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेकी छन् ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताएका छन् ।

प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, ‘भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरिब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।’

भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्वीट गरेर स्वराजप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।


सम्बन्धित खवर