पहिरोले ट्रान्सफर्मर बगाएपछि गाउँ नै अन्धकार

पहिरोले ट्रान्सफर्मर बगाएपछि गाउँ नै अन्धकार

मोरङ, अविरल वर्षाका कारण पहिरोले ट्रान्सफर्मर बगाएपछि इलामको एउटा गाउँ नै अन्धकार बनेको छ । साउन १५ गतेको पहिरोले मावाखोला लघु जलविधुत आयोजनाको ट्रान्सफर्मर बगाएपछि चुलाचुली गाउँपालिकाको वडा नं. ६ सक्फारा गाउँ नै अँध्यारो भएको हो ।

ट्रान्सफर्मर बगाएपछि सक्फाराका २ सय १५ घर उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएको मावाखोला लघु जलविधुत आयोजनाका सचिव मदन राईले बताए ।

पहिरोका कारण विधुत पोलहरू समेत बगाउँदा लाखौंको क्षति पु¥याएको राईले बताए । दक्षिणी इलामको चुलाचुली गाउँपालिकाकै दुर्गम क्षेत्रमा पर्ने साक्फाराका स्थानीयले मोबाइलसमेत चार्ज गर्न नपाएको स्थानीय दीपक श्रेष्ठले बताए । उक्त स्थानमा वर्षासँगै आएको बाढीले सवारी आवागमन समेत ठप्प भएको छ । तत्कालका लागि बाटो मर्मत तथा पूनः निर्माणमा समेत समस्या रहेको स्थानीय अमिर राईले बताए ।

उक्त स्थानमा पुग्न सबैभन्दा छोटो बाटो मिक्लाजुङ–मधुमल्ला–तोरीबारी हुँदै फुङ्नामसम्मको सडक पहिरोले अवरुद्ध भएकाले थप समस्या उत्पन्न भएको स्थानीय राजन राईले बताए ।

पहिरोले पुर्याएको क्षतिको विवरण चुलाचुली गाउँपालिकामा बुझाइसकेकाले चाँडै मर्मत हुनेमा आफू आशावादी रहेको मावाखोला लघु जलविधुत आयोजनाका सचिव मदन राईले बताए । २०६६ सालदेखि सञ्चालनमा रहेको उक्त विधुत आयोजनाबाट २ सय १५ घरमा विधुत सेवा पुग्नुका साथै दुईवटा धान मिल र एउटा थुक्पा फ्याक्ट्री सञ्चालन हुँदै आएको छ ।


सम्बन्धित खवर