रुद्राक्षमा लगाइएको प्लाष्टिक क्लिप प्रहरीले हटायो

रुद्राक्षमा लगाइएको प्लाष्टिक क्लिप प्रहरीले हटायो

श्रावण २१, २०७६
भोजपुर जिल्लामा रुद्राक्षको दानामा लगाइएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले किसानबाट बगान खरिद गरी दाना राम्रो हुने भन्दै आफू खुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप प्रहरीले हटाएको हो । क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट हटाउन निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर मगरले बताए ।

षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा फलेका दानामा क्लिप लगाइएको थियो । प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ वटा र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाइएको २२५ वटा क्लिप हटाएको हो । कृषकहरूबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफू खुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशन अनुसार क्लीप हटाइएको प्रहरीले जनाएको छ ।

चिनियाँ व्यापारीले प्लास्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अन्डा र थेप्चो आकारमा आवश्यकता अनुुसार बनाउने गरे पनि अप्राकृतिक आकारको रुद्राक्षले अन्तर्रा्ष्ट्रिय बजारमा पार्ने नकारात्मक असरका बारेमा भने कृषक अनभिज्ञ रहेका छन् ।
रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्व बजारमा नेपाली रुद्राक्षको गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिाकाका विभिन्न ठाउँमा रुद्राक्षको राम्रो खेती हुने गरेको छ ।
साभार – ब्लाष्ट खबर

सम्बन्धित खवर