मौसम पुनः सक्रिय हुने सम्भावना, सतर्क रहन आग्रह

मौसम पुनः सक्रिय हुने सम्भावना, सतर्क रहन आग्रह


साउन २०, २०७६
केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय हुने भएको छ। मनसुनी न्यून चापीय रेखा वर्षा गराउने वायु औसत स्थानभन्दा केही उत्तरतिर नेपाल तर्फ सरेकाले भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले जानकारी दिए।
हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौँमा १० दशमलव ० मिलिमिटर वर्षा भएको छ भने पोखरामा ५४ दशमलव ०, दाङमा ३२ दशमलव ०, सिमरामा ६७ दशमलव ०, नेपालगञ्जमा २७ दशमलव ०, धनगडीमा ४२ दशमलव ० र दिपालयमा २६ दशमलव ० मिलिमिटर वर्षा मापन गरिएको छ।
सोमबार राति देशभर सामान्य बदली रही देशको पश्चिमी भागका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। भोलि देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, बुधबार देशभर सामान्यदेखि पूर्ण बदली हुनाका साथै केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशको केही स्थानमा मेघगर्जनरचटयाङ पर्ने सम्भावना रहनाका साथै पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित खवर