समुदाय प्रहरी अन्तरगत सचेतनामूलक कार्यक्रम सम्पन्न

समुदाय प्रहरी अन्तरगत सचेतनामूलक कार्यक्रम सम्पन्न

तिलक नेपाली (बर्देवा), उर्लाबारी

मोरङको उर्लाबारीमा समुदाय र प्रहरी कार्यक्रम अन्तरगत महिला केन्द्रीत एक दिवसीय सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले जबसम्म सम्पूर्ण नागरिकमा चेतना अभिवृद्धि हुँदैन तबसम्म कानूनमा र संविधानमा तोकिएको कुराहरु सम्बन्धी ज्ञान नहुने र समृद्धिको परिकल्पना गर्न नसकिने बताएका छन् । नगर प्रमुख फागोले कानूनमा लेखिएका हक अधिकारहरु सुनिश्चित हुनु पर्छ, के गर्दा हामी अपराधी हुन्छौं र के गर्दा कानून उल्लङ्घन् गरेको ठहर्छ भन्ने कुरामा जानकार हुनुपर्ने बताएका छन् । उनले हामी कसैले अपराध गरेर कानून थाहा छैन भनेर छुट नहुने कुराबारे अवगत गराउँदै यस्ता कानूनी प्रशिक्षणबाट क्षमता अभिवृद्धि गरियो भने समाजमा शान्ति सुव्यवस्था अमन चयन हुने र अपराध न्युनिकरण हुने बताएका छन् ।

कार्यक्रममा प्रदेश नं. १ का बरिष्ठ प्रहरी उपरीक्षक किशोर कुमार दाहाल र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरीक्षक कोपिला भुजेल लगायतले महिला तथा बालबालिकाहरु माथि हुने अपराधका प्रकारहरुका बारेमा प्रशिक्षण दिएका थिए । सो अवसरमा जवरजस्ती करणी, बहुबिवाह, बोक्सीको आरोप, मावनबेचविखन तथा ओसार पसार, छुवाछुत, बालविवाह, गर्भपतन र घरेलु हिंसा हुँदा न्यायका लागि कानूनी उपचारका लागि कहाँ जाने, कसरी उजुरी गर्ने लगायतका कुरामा प्रशिक्षण दिइएको थियो ।
अन्तरपार्टी महिला सञ्जाल नगर समिति उर्लाबारी र उर्लाबारी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा बिहीबार भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राई, जनप्रतिनिधि, महिला अधिकारकर्मी, महिला वडासदस्यहरु, पार्टी प्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधि र ९ वटै वडाका महिलाहरु गरी करिब दुई सय जनाभन्दा बढी उपस्थिति रहेको थियो ।

कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम अन्तरपार्टी महिला सञ्जालकी उर्लाबारी अध्यक्ष गीता खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर