मोरङ मोडलका विद्यार्थीले गरे सडक सफाई

मोरङ मोडलका विद्यार्थीले गरे सडक सफाई

तिलक नेपाली, उर्लाबारी

उर्लाबारी नगरपालिका वडा नं. ६ स्थित मोरङ मोडल आवासिय माध्यमिक बिद्यालयका विद्यार्थीले सरसफाई, बृक्षारोपण तथा बोट विरुवा संरक्षण अभियान सम्पन्न गरेका छन् ।

उर्लाबारी नगरपालिका वडा नं. ६ स्थित मोरङ मोडल बाल क्लबको आयोजनामा मंगलबार उर्लाबारी चौक देखि उत्तर हाटखोलासम्म सडकको बीचमा लगाइएको बिरुवाको गोडमेल तथा सरसफाई गरिएको हो ।

बृक्षारोपण गर्नुपर्छ र बातावरण सरसफाई राखौं भन्ने चेतना अभिवृद्धि गर्न अभियानको आयोजना गरिएको बिद्यालयका बाल क्लब संरक्षक शिक्षक बिनोद खनालले बताएका छन् ।

बाल क्लबको बैठक बसेर क्लबको अगुवाईमा एउटा फरक कार्य गर्ने सोचका साथ यस्तो अभियान पहिलो पटक गरिएको क्लबका अध्यक्ष सफल राईले बताइन् । यस्ता कार्यक्रमबाट वाताबरण सफा हुने, हरियाली हुने साथै उर्लाबारीको नाम पनि रहने भएकाले उर्लाबारीको राजमार्गका सवै ठाउँमा बृक्षारोपण गर्नुपर्ने आवश्यकता रहेको राइले बताएकी छन् ।

मोरङ मोडल आवासीय माध्यमिक बिद्यालयलाई ब्रिटिस काउन्सिलद्वारा दिइएको इन्टरनेशनल स्कुल अवार्ड २०१९/०२० अन्तर्गत १ बर्ष कार्यक्रमको लागि छानिएको हुनाले यस अभियानको सुरुवात गरिएको बिद्यालयका प्रिन्सिपल केशव राईले बताएका छन् । बिद्यालयमा रहेका बाल क्लबको नेतृत्वमा सामाजिक कार्य गर्न उत्प्रेरणा होस् भनि यो अभियानले वातावरण संरक्षण गर्नुपर्छ र हरियो वन नेपालको धन भन्ने नारालाई सार्थक गर्न सबै लागि पर्न राईले जोड दिएका छन् । साथै यस्तै कार्यक्रहरुलाई बिद्यालयले नियमित रुपमा निरन्तरता दिने पनि राईले बताएका छन् ।

उक्त कार्यक्रममा बालक्लबका पदाधिकारी, कक्षा ९ र १० का बिद्यार्थी र शिक्षक गरेर ८२ जनाको सहभागीता रहेको थियो ।


सम्बन्धित खवर