सल्लेरी सहकारीका अध्यक्षले चप्काए करोडौं रकम

सल्लेरी सहकारीका अध्यक्षले चप्काए करोडौं रकम

मोरङ, धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले करोडौं रकम चप्काएर फरार भएका छन् । अध्यक्ष कृष्ण विश्वकर्मा दुई साता देखि सम्पर्क विहिन भएका हुन् ।

विकले धरान १२ स्थित शिखर सुनचाँदी पसल पनि चलाउदै आएका थिए । उनले सहकारीको पासबुक प्रयोग गरेर सोही सुनचाँदी पसलमा लगानी गरेको पनि एक अनुसन्धानबाट खुलेको छ । अध्यक्ष बिक सम्पर्कविहिन भएपछि सञ्चालक समितिले नै धरान उपमहानगरपालिका स्थित सहकारी समितिमा उजुरी दिएका थिए । समितिले टंक सुवेदीको संयोजकत्वमा समिति बनाएर छानबिन गरिरेको छ । सहकारीका अनुसार अध्यक्ष विक गत असार २३ गतेदेखि सम्पर्कविहिन भएका हुन् ।

छानबिन समितिका अनुसार अध्यक्ष बिकले आफ्नो छोरा मोहन दर्नाललाई व्यवस्थापक राखेको पनि खुलेको छ । यस्तै, सहकारीको पासबुक प्रयोग गरेर अध्यक्ष बिकले सुनचाँदी पसलमा ६८ लाख लगानी गरेको खुलेको छ । अन्य पासबुकबाट पनि उनले पैसा झिकेको बिषयमा छानबिन भइरहेको समिति संयोजक सुवेदीले बताए । सहकारी नियम अनुसार सुनचाँदी पसल सञ्चालन गर्न पाइदैन । तर, विकले प्रक्रिया मिलाएर नै सहकारीको रकम आफ्नो नाममा सञ्चालन गरेका थिए ।

अध्यक्ष बिक सम्पर्कविहिन भएपछि उनका छोराले साउन ५ गते इलाका प्रहरी कार्यालय धरानमा खोजी गरिपाउँ भन्दै निवेदन दिएका थिए । असार २३ देखि सम्पर्कविहीन भएका विकले असार २७ मा श्रीमती मार्फत १ करोड ७५ लाखमा धरान १५, बाँझगरास्थित जग्गा बेचेको पनि छानबिनबाट खुलेको छ । सहकारी ऐन २०७४ मा अध्यक्ष फरार भए वा आर्थिक हिनामिना भए सञ्चालक समितिले बचतकर्ताको रकम ब्याज सहित फिर्ता गर्नुपर्ने व्यवस्था छ । त्यसो नगरेमा सञ्चालक समितिको सम्पत्तिसम्म जफत हुने प्रावधान पनि छ ।
कपुरी न्यूजबाट

सम्बन्धित खवर