अर्गानिक नगर बनाउने अन्तरक्रिया

अर्गानिक नगर बनाउने अन्तरक्रिया

पथरी, मोरङको पथरी शनिश्चरेलाई अर्गानिक नगर बनाउने विषयमा सोमबार अन्तरक्रिया भएको छ । नगरको वडा नम्वर २ मा स्थापित (प्रदेश नं. १ मा एकमात्र) उचित जैविक प्रालिले पथरी शनिश्चरेलाई अर्गानिक नगर बनाउने पहलका विषयमा नगरपालिकाका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको हो ।

प्रालिका सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जन र सहव्यवस्थापक अशोक चाम्लिङले जैविक उद्योगले गरेको अभियानका बारेमा जानकारी गराउँदै पथरीशनिश्चरेलाई अर्गानिक नगर बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । प्रतिकठ्ठा खेतमा ८ किलोग्राम जैविक मल प्रयोग गर्नुपर्ने हुन्छ । जसबाट स्वस्थ्यवद्र्धक उत्पादन बढाउन सकिने तथा जैविक पौष्टिक आहारले पशुपंक्षीबाट आम्दामी बढाउन सकिने जानकारी गराइएको छ ।

कार्यक्रममा, नगर प्रमुख दिलिपकुमार राईले हालैको चौथो नगरसभाले अर्गानिक नगर बनाउन पहल गर्ने कुरा पारित गरेको र यस अभियानमा लाग्ने जनाउनु भयो । अन्य जनप्रतिनिधि सहितका सहभागिले विभिन्न दीर्घ रोगको कारक बनेको रायायनिक मल र विषादीलाई हटाएर जैविक मल विषादीले अर्गानिक नगर बनाउन सवै पक्ष लाग्नु पर्ने धारणा राखेका छन् । सो उद्योगका लागि नगरले शुरुमा १० लाख रुपैयाँ प्रदान गरेको थियो । विद्युत जडान, टन्सफर्मर खरिद तथा सडक स्तरोन्नतीमा समेत नगरपालिका र वडा कार्यालयले सघाएको छ ।

नगरपालिकाले नगरका कृषकका लागि ५० प्रतिशत अनुदानमा मल र विषादी प्रदान गर्न गत वर्ष ४ लाख रुपैयाँ लगानी गरेको थियो । जस अनुरुप उद्योगले नगरका १० वडामा १ हजार १ सय किलोग्रामका दरले ५० प्रतिशत अनुदानमा प्रदान गरेको छ । १ नम्वर वडामा ५० प्रतिशत अनुदानमा पौष्टिक आहार समेत प्रदान भएको छ ।

नगरका लागि मात्र नभएर १ नम्वर प्रदेशका कृषकहरुलाई प्रोत्साहित गर्ने काम थालेको उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुँदैछ । जहाँ १० वटा संस्थाको सहकार्यमा उद्योग स्थापना गरेर वढ्दो रासायनिक मल र विषादी हटाउने अभियान अघि बढेको हो ।

सोही वडाको उत्साहि साना किसान कृषि सहकारी संस्थाको संयोजनमा कृषि क्षेत्रमा काम गर्ने मोरङ, झापा र इलामका १० संस्थाको ६३ लाख र बाँकी प्रालिको केन्द्रले गरी साढे २ करोड लगानी भएको छ । जसमा उत्साहीले सवैभन्दा बढी २१ लाख लगानी गरेको छ । कृषक समूहले १/१ लाख र कृषि सहकारी संस्थाले न्यूनतम् ५ लाख रुपैयाँका दरले त्यहाँ लगानी गरेको छ । उद्योगबाट हाल दैनिक २ टन मल उत्पादन भइरहेको छ ।

सम्बन्धित खवर