शान्ति सुरक्षा दिने प्रहरीबाटै यस्तो हर्कत ? प्रहरीबाटै दिक्क भएपछि जनता उत्रिए सडकमा, सप्तरी बजार बन्द

शान्ति सुरक्षा दिने प्रहरीबाटै यस्तो हर्कत ? प्रहरीबाटै दिक्क भएपछि जनता उत्रिए सडकमा, सप्तरी बजार बन्द

राजविराज, प्रहरी प्रशासनको विरोध गर्दै स्थानीय व्यापारीले शनिबार बिहानै देखि सप्तरीको बोदेबरसाइन बजार बन्द गराएका छन्। प्रहरीको आतंकले व्यापार व्यवसाय तहसनहस भएको उनीहरुको गुनासो छ। बिहानै बजारमा जम्मा भएका व्यापारी व्यवसायीले सडकमा टायर बालेर नाराजुलसहित प्रहरी प्रशासनको विरोध गरिरहेका छन्।

प्रहरीले खटाएका घुमुवाले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिए। पछिल्लो पटक गत बिहीबार बोदेबरसाइन नगरपालिका ५ स्थित जय माता दी ट्रेडर्स (कपडा पसल)बाट बक्री भएको करिब ७५/८० हजारको सामान नियन्त्रणमा लिएर प्रहरीले भन्सार बुझाएपछि समस्या सुरु भएको उनले जानकारी दिए।

भ्याट बिलसहित बेल्ही चेपेनाको पथ्थरगढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २र३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिइएको उनले जानकारी दिए। प्रदेश प्रहरीको घुमुवा (असई) मोती महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए।

‘प्रहरीले व्यापारीसँग भएको बिल च्यातेर गैरकानुनी सामान भन्दै भन्सार बुझाउने चलन छ,’ उनले भने, ‘यो घटनामा पनि हामीले बिल छ भन्दै पटकपटक आग्रह गर्‍यौं। तर, प्रहरीले हाम्रो कुरा सुनेन।’ सक्कली बिल प्रहरीले च्याते पनि ओसी कपी आफूहरुसँग अहिले पनि सुरक्षित रहेको उनी बताउँछन्।

नियमअनुसार खरिदबिक्री भएको सामान भन्सार बुझाएको विषयमा कुरा गर्न शनिबार बिहानै इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा जाँदा इन्चार्ज (सई) अमिरी यादवले अपशब्द प्रयोग गरी गाली गरेपछि व्यापारीहरु थप आक्रोशित भएको सिंहले बताए।

‘हामी सहज रुपमै कुरा गर्न गएका थियौं,’ सिंहले भने, ‘तिमीहरुले आमाको दूध खाएको भए अहिले फर्किइहाल, म पनि पेस्तोल बोकेर बसेको छु भन्दै सईले कुर्सी छोडेर उफ्रिएपछि अर्को विकल्प नै रहेन।’

गैरकानुनी भन्दै ४ लाख ९० हजारको बिगो बनाएर सामान बिक्री गर्ने जय माता दी ट्रेडर्सका संचालक तथा व्यापार समितिका उपाध्यक्ष रामचन्द्र भगत र खरिदकर्तालाई पनि हाल भन्सार कार्यालयको थुनामा राखिएकाले आन्दोलन थप चर्काइने व्यापारीहरुले जनाएका छन्।

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले पनि व्यापारीप्रति प्रहरीको व्यवहार गलत देखिएको आरोप लगाए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले भने भारतबाट अनधिकृत रुपमा ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको दाबी गरे। सामान वैधानिक भए अहिले पनि बिल देखाएकार भन्सारबाट छुटाउन सकिने भन्दै उनले प्रहरीले गलत मनसाय राखेर कसैलाई पनि दुःख नदिएको जिकिर गरे।
समाचार स्रोत पाथीभरा डेल्ली

सम्बन्धित खवर