खोटाङ, लोकसेवा आयोगले समावेसी विज्ञापन नगरेको भन्दै आन्दोलनरत रहेका युवाहरुलाई पक्राउ गरेको भन्दै तत्काल रिहाइ गर्न समाजवादी पाट्रिले माग गरेको छ । जनताको विरोध गर्न पाउने अधिकारको रक्षा गर्न भन्दै समाजवादी पार्टी नेपाल खोटाङले जिल्लामा पक्राउ परेका ४ जना युवाहरुलाई तत्काल रिहाई गर्न माग गरेको हो । हाल चलिरहेको लोकसेवा आयोगको असमावेशी विज्ञापन खारेजीको माग गर्दै चलिरहेको शान्ति पूर्ण आन्दोलनमा एक्यवद्धता जनाई रहेको समाजवादी पार्टीले राज्यले दमनको नीति लिएकोमा विरोध जनाएको हो ।
आदीवासी जनजाति, दलित, महिला, अपाङ्ग, मधेसी, मुस्लिम लगायतको अधिकारलाई कटौती गर्दै संविधानको भावना र मर्म विपरित लोकसेवा आयोगले खुलाएको विज्ञापनको विरोधमा एक नम्बर प्रदेश बन्दको आव्हान गरिएको थियो । बन्द गराउने क्रममा दिक्तेल बजारबाट आदीवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका युवाहरुलाई तत्काल रिहाई गर्न भन्दै पार्टीले विज्ञप्ती जारी गरेको छ ।
उता प्रहरी हिरासतमा रहेका रविन खम्बु लगायतका युवाहरुले भने हिरासतमै अनसन शुरु गरेका छन् ।