पथरीशनिश्चरे नपामा कामै नगरी बजेट निकासा लान प्रयास, नगरपालिकाबाट रोक

पथरीशनिश्चरे नपामा कामै नगरी बजेट निकासा लान प्रयास, नगरपालिकाबाट रोक

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकामार्फत कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेपनि कामै नगरी बजेट निकासा लिने प्रयास गरेको थाहा पाएर नगरपालिका कार्यालयले बजेट रोकिदिएको छ ।

झापाको दमकस्थित पाभीभरा प्रोफेसन एजुकेशन् प्रालिले सैलुन तालिमको कार्यक्रम सम्झौता गरेको भएपनि कार्यक्रम नै नगरी रकम निकासाको पहल गरेको थाहा पाएपछि सो रोक्का गरिएको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो । नगरस्तरीय योजना अन्तर्गत १ लाख ७६ हजार रकमको सम्झौता गरेपनि तालिम सञ्चालन नगरी सहभागिको किर्ते हाजिर तयार गरेर नगरपालिकामा आएको थाहा पाएपछि आफुले सो संस्थाका अन्य काममा पनि निगरानी वढाइएको अवस्था सुनाउनु भयो । निगरानी बढाउने क्रममा उसले महिला लक्षित कार्यक्रमको ढाका तान शिर्षकमा ५० जना सहभागि राखेर ४५ दिनको तालिम सञ्चालन गर्ने सम्झौता गरेपनि २६ जना मात्र सहभागि गराई ३३ दिन मात्र तालिम दिएको खुल्न आएको वास्तोलाले उल्लेख गर्नुभयो । सो शिर्षकको ४ लाख २२ हजार रुपैयाँको कार्यक्रम रहेको भएपनि सम्झौता भएको रकममा काम नभएको रकम कट्टा गरी भुक्तानी गरिएको प्रष्ट्याउनु भयो ।

उता, सोही संस्थाले वायरिङ र प्लम्विङका लागि १ लाख १७ हजार ४ सय ८८ रुपैयाँको सम्झौता गरेपनि वायरिङको मात्र तालिम प्रदान गरेको देखिएको छ । नगर उपप्रमुख वास्तोलाले अवका दिनमा सो संस्थालाई कार्यक्रम नदिई कालोसूचीमा हाल्न सकिने समेत चेतावनी दिइएको वताउनु भयो ।

योजना तथा कार्यक्रमहरु अनुगमन्का क्रममा, वडा नम्वर ८ सखुवारा शुक्रवारे सडकमा प्रदेश सरकारमार्फत १५ लाखको लागतमा ६ सय मिटर स्तरीय ग्राभेलिङ गर्ने योजना सन्तोषजनक नभएको अनुगमन् समितिको टिप्पणी छ । प्राविधिक समेतको पटक पटकको नापजाँचमा सडकमा कम्प्याक्सन् अपुरो तथा साइड स्लोप पूर्ण नभएको देखिएको उल्लेख छ । प्राविधिक सहितको अनुगमन् आर्थिक वर्ष ०७५/७६ का योजनाहरुको अन्तिम अनुगमन पछि समितिको वैठक बसी देखिएका समस्याहरु बारे छलफल गर्दै भएका कमिकमजोरी गर्ने पक्षलाई सुध्रन चेतावनी दिइएको नगर प्रवक्ता एवम् अनुगमन् समिति सदस्य यामप्रसाद गुरागाईले जनाउनु भयो । ‘कार्यक्रमै नगरी यस्ता खाले ठगी गर्नेहरुका लागि हामीले कडा निगरानी गर्छाैं । कार्यक्रम वा योजना सत्यतथ्य र गुणस्तरीय हुनुपर्नेमा हाम्रो जोड छ ।’– उपप्रमुख वास्तोलाले भन्नुभयो ।

सम्बन्धित खवर