लगातारको वर्षाले चैनपुरका ४ घर पहिरोको उच्च जोखिममा

लगातारको वर्षाले चैनपुरका ४ घर पहिरोको उच्च जोखिममा

संखुवासभा–लगातारको वर्षाका कारण संखुवासभाको चैनपुर नगरपालिका ४ मा रहेको पोखरीबजार नजिकैका ४ घर पहिरोको उच्च जोखिममा परेका छन् । केही दिनदेखि परेको अविरल वर्षाले स्थानीय लिलाबहादुर कार्की, बर्तबहादुर राई, फुर्वा शेर्पा र पदमबहादुर राईको घर पहिरोको उच्च जोखिममा परेका हुन् । उनीहरुको घरमुनिबाट पहिरो झर्न थालेपछि घर नै तान्ने हो कि भन्ने डर फैलिएको छ। पहिरोले तान्न लागेको ४ घरमध्ये स्थानीय पदमबहादुरको घर मात्र पक्की छ भने अरु ढुङ्गा माटो र फुसको छानो भएका घर छन् । घरमुनिबाट पहिरो खस्न थालेपछि रातभर निन्द्रा नै लाग्न छोडेको पदमबहादुरले बताए।

पहिरोले घर तान्न थालेपछि नेपाल रेडक्रस सोसाइटी चैनपुर उपशाखाले वितरण गरेको त्रिपालले पहिरो गएको ठाँउमा माथिबाट छोपिएको स्थानीय पदमबहादुरले बताए । उनले त्रिपालले छोपेर मात्र घरहरु जोगाउन नसकिने हुँदा पहिरोको जोखिममा रहेका उक्त घरहरुलाई संरक्षणको लागि तलबाट जालीसहितको गारो लगाउनु पर्ने र आफूहरुलाई वैकल्पिक ब्यबस्थापनका लागि सहयोग गर्नु पर्ने माग गरे ।

घर नजिकैबाट खनिएको मोटर बाटो, कमजोर भू–बनावट र बर्खाको समयमा केहीदिन अघिदेखि परेको अविरल वर्षाका कारण ती घरहरु पहिरोको उच्च जोखिममा परेको स्थानीय मोहनकुमार राईले बताए। ती ४ घर नै पहिरोले बगाउने खतरा भएकाले स्थानीय सरकारले सक्दो सहयोग गर्नु पर्ने र तत्काललाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने चैनपुरका कुमारबाबु अधिकारीले बताए। उनले दीर्घकालीन सोचका साथ विकासका संरचनाहरुमा ध्यान नर्पुयाउँदा जोखिम निम्तिने खतरा बढ्ने भएकाले विकास निर्माण र संरचना तयार गर्दा ध्यानु दिनुपर्नेमा जोड दिए ।

सम्बन्धित खवर