बाढी र पहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, देशैभरीको पछिल्लो अपडेट

बाढी र पहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, देशैभरीको पछिल्लो अपडेट

बाढी र पहिरो र डुबानका कारण ३२ जनाको ज्यान गएको छ, १७ जना बेपत्ता र १२ जना घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म ८ सय ३१ जनाको उद्धार गरिएको छ भने ४ सय ३५ परिवारका १ हजार ५ सय जना विस्थापित भएका छन् ।बाढी पहिरोमा परेर ललितपुरमा पाँच तथा काठमाण्डौ, खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा तीन(तीन, धादिङ र सिन्धुलीमा दुई(दुई तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक(एक जनाले ज्यान गुमाएको थापाले जानकारी दिए ।

महोत्तरीमा पाँच सय, रौतहटमा दुई सय, सिन्धुलीमा ७०, काठमाण्डौमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिरहामा दुई तथा खोटाङ, भक्तपुर, सुनसरी र मकवानपुरमा एक(एक जनाको उद्धार गरिएको छ । मकवानपुरमा चार, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक(एकजना घाइते भएका छन् ।

त्यस्तै सिन्धुलीमा चार, भोजपुरमा दुई तथा काठमाण्डौ, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र ललितपुरमा एक(एक जना बेपत्ता भएको थापाले बताए ।

सप्तकोशीका ४० ढोका खोलिए

सप्तकोसी नदीमा पानीको बहाव पाँच वर्षपछिकै सबैभन्दा धेरै पुगेको छ । सप्तकोशीमा शनिबार बेलुका पानीको बहाव प्रति सेकेन्ड तीन लाख छ हजार छ सय छ क्यूसेक पुगेको छ । २०७१ सालमा कोशीमा ३ लाख ४१ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेण्ड मापन भएको थियोे । अहिले सप्तकोशीका ५६ मध्ये ४० वटा ढोका खोलिएका छन् ।

पानी परिरहेकोले सप्तकोशीमा पानीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । यस्तै, राप्ती नदीमा पानीको सतह खतरामाथि पुगेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आसपासका बासिन्दालाई सुरक्षित रहन साइरन बजाएर सूचित गरेको छ ।

एसएसबीले बाँध मर्मत गरेपछि रौतहट डुबानमा

रौतहटको दशगजामा लालबकैया र बाग्मती नदीलाई जोडेर भारतीय पक्षले बनाएको बाँध भत्किएको केहीबेरमै मर्मत गरेपछि रौतहट सदरमुकाम गौरसहितका ठाउँ जलमग्न भएका छन् । बाँध भत्किएर पानी भारततर्फ बग्न थाल्दा नेपालतर्फ पानीको सतह केही घटेपनि भारतीय सीमा सुरक्षा बल एसएसबीले केही समयमै बाँध मर्मत गरेर पानी रोकेपछि नेपाली भूभागमा डुबान भएको छ ।

दशगजामा रहेका भारतीय बाँधका ढोका भारतीय पक्षले नखोलेपछि रौतहट सदरमुकाम गौरसहित धेरैजसो ठाउँ डुबानमा परेका छन् । गौरमा घरको एक तलासम्म पानी भरिएको त्यहाँबाट उज्यालो सहकर्मी मदन ठाकुरले जनाएका छन्।

धनुषामा १८ जनाको उद्धार

यस्तै धनुषाको शहीद नगरपालिका बत्राइमा फसेका १८ जनाको उद्धार गरिएको छ । धनुषामै कमला नदीे बाँध भत्काएर गाउँपसेपछि झण्डै १ सय ५० घरपरिवार विस्थापित भएका छन् । ३० मिटरसम्म बाँध भत्काएर नदी गाउँपसेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीमा खोलो थुनिँदा झण्डै ४० घर डुबानमा परेका छन् ।

धनकुटामा ११ घर परिवारलाई सुरक्षित ठाउँमा सारियो

पहिरो गएपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका ११ घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । धनुषाको सघारा र सिराहाको बस्तीकट्टा गाउँपालिकाको बीच कमला नदीमा पुल बनाउने क्रममा बाढीमा फसेका इन्जिनियरसहित १८ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए।

पाल्पामा पहिरो, मोरडमा पानी नाप्न जाँदा ज्यान गयो

पाल्पाको सिद्धबाबा पहिरोमा परेर पाल्पाको निस्दी गाउँपालिका ४ का धनबहादुर सुनारी मगरको ज्यान गएको छ । खोलामा पानी नाप्न गएकी मोरङ्गको कटहरी गाँपालिका ४ की सोभा सेरन डुबेर बेपत्ता भएको र उर्लाबारीमा पनि एकजनालाई खोलाले बगाएर बेपत्ता बनाएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।

बाढी र डुबानमा परेका परिवारलाई प्रदेश २ सरकारले तीन लाख दिने

प्रदेश २ को सरकारले बाढी र डुबानमा परेर ज्यान गुमाएकाका परिवारलाई तीन(तीन लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै ज्यान गुमाउनेका परिवारलाई तीन,तीन लाख तथा राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०,१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, प्रदेश तीन सरकारले बाढी, पहिरोका कारण ज्यान गुमाउनेको परिवारलाई एक लाख रुपैयाँका दरले राहात दिने घोषणा गरेको छ । प्रदेश ३ को विपद् व्यवस्थापन निर्देशक समितिको वैठकले राहात दिने निर्णय गरेको समितिका अध्यक्ष समेत रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । बाढीपहिरोमा परेर घाईते भएकालाई प्रदेश ३ सरकार मातहतका अस्पतालमा निशुल्क उपचार गर्ने र त्यसभन्दा बाहेकका अस्पतालमा उपचार गराए जनही २५ हजार रुपैयाँ सम्म राहत रकम उपलब्ध गराइने मुख्य मन्त्री पौडेलले बताए ।

महोत्तरीमा भस्सी खोलाको पुल बग्यो

बाढी पहिरो र डुवानका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएको छ । महोत्तरीको बर्दिवास नपा १ र ४ जोड्ने पुल भस्सी खोलाको पुल ३५ मिटर बगाएका कारण पूर्वपश्चिम राजमार्गमा अवरोध रहेको प्रहरीले जनाएको छ । रामेछापको मन्थली नगरपालिका ६ सेलेघाट भन्ने ठाउँमा पहिरो आइ मन्थली काठमाडौं आउने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । रसुवाको उत्तरगया गापास्थित वेत्रावती मैलुङ स्याफ्रुबेशी सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

कालीकोटमा कर्णाली राजमार्ग अवरुद्ध

यस्तै कालिकोटको खाडाचक्र गाउँपालिका ७ को बजारदेखि जुम्लातर्फ जाने सडक माथिबाट खसेको ढुंगाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै दैलेको गुराँस गाउँपालिका २ को तल्लोडुङ्गेश्वर ग्रिवाकोट सुखेत सडकखण्डमा अवरोध रहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध

हेटौडा –काठमाण्डौ सडक पहिरोका कारण अवरुद्ध छ । मकवानपुरको कुलेखानी सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । यस्तै बाराको जितपुर सिमराको महेन्द्रमार्ग अवरुद्ध छ भने काभ्रेको रोशी गाउपालिका ११ माम्तीमा र सिन्धुलीको सुनकोशी गाउँपाकिला १ कमेरमा सडकमा लेदो खस्दा बिपी राजमार्ग अवरुद्ध बनेको छ । त्यस्तै चितवनको ठोरी पर्सामा पानीको बहाव बढेका कारण गाडी चलाउन समस्या परेको छ ।

ठाउँ ठाउँमा सडक अवरुद्ध

मुस्ताङको थामाङ गाउँपालिका ४ घोप्टेभीरमा कालीगण्डकी नदीमा पानीको बहाव बढेर बेनी जोमसोङ जाने सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै उदयपुरको घुर्मी कटारी सडक खण्ड बाढीले गर्दा अवरुद्ध भएको छ भने कटारी नगरपालिका १४ मा पनि सडक अवरुद्ध बनेको छ । यस्तै ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ सिद्दिचरण राजमार्ग तेह्रथुमको लालिगुरास नपा ९ काडेस्थित म्याङलुङ बसन्तपुर सडक खण्ड अवरुद्ध भएको छ । ललितपुरको भट्टेडाँडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ, हेटौडा जाने सडक अवरुद्ध भएकोमा अबरोध पन्छाएर खुलाइएको प्रहरीले जनाएको छ ।

ठाउँ ठाउँमा सडक खुलाइए

धादिङ, बेनिघाट रोराङ गाउँपालिका १० बादरेमोडमा डाँडाबाट लेदो खसेर बन्द भएको सडक खुलाइएको छ । यस्तै पहिरोका कारण अवरुद्ध रहेको मेची राजमार्ग अन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । नारायणगढ काठमाण्डौ आउने बाटो सञ्चालनमा ल्याइएको छ ।

इलामको सूर्योदय नगरपालिका(९, ढोडेमा बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । धादिङको नौविसेदेखि हेटौडा जाँने त्रिभुवन राजपथमा नौविसे भन्दा ३ किमी हेटौँडातर्फ रुख ढलेर बाटो अवरुद्ध भएकोमा प्रहरीले पन्छाएको छ ।

प्रहरीले अवरुद्ध सडकहरु खुलाउने प्रयास गरिरहेको जनाएको छ । यात्रा गर्दा संयम अपनाउन र सुरक्षामा ध्यादिन प्रहरीले अनुरोध गरेको छ । यस्तै कुनै ठाउँको यात्रा गर्नुभन्दा पहिले त्यहाँको बाटोको अवस्थाबारेमा जानकारी लिन पनि प्रहरीले आग्रह गरेको छ ।

(स्रोत–उज्यालोअनलाइन)

सम्बन्धित खवर