पथरी, बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहले एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने ३४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । समुहले आफ्नो कार्यक्षेत्र भित्रका साविक १७ वटा गाविसबाट एक महिला र एक पुरुष विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
बुधबार सव डिभीजन वन कार्यालयमा आयोजित कार्यक्रममा डिभीजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे लगायत समुहका सदस्यहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो । छात्रवृत्ति वापत विद्यार्थीहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिएको हो ।
यस्तै समुहले २ वटा विद्यालयलाई एलइडी र पेनड्राइभ पनि प्रदान गरेको छ । बेलबारी १ स्थित जनएकता आधारभूत विद्यालय र कानेपोखरी १ स्थित सगरमाथा आधारभूत विद्यालयलाई ३२ इन्चको एलइडी प्रदान गरेको हो । साना वालवालिकालाई श्रव्यदृष्यको माध्यमबाट सिकाई गराउन सहज होस भनेर ती सामग्रीहरु वितरण गरिएको बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहका संयोजक दिनेश गिरीले बताउनुभयो । आफ्नो विद्यालयमा अधिकांस आदिवासी समुदायका विद्यार्थी अध्ययनरत रहेको र प्राप्त सामग्रीले सहयोग पुग्ने सगरमाथा आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक तिवारीले बताउनुभयो ।
बुधबारै नै वैज्ञानिक वन व्यवथापनका विषयमा सञ्चारकर्मी विच अन्तरकृया कार्यक्रम आयोजना भएको छ । डिभीजन वन कार्यालय मोरङ र नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा भएको कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनका विषयमा अन्तरकृया भएको थियो । डिभीजन वन कार्यालयका डिभीजनल वन अधिकृत विशाल घिमिरेले वैज्ञानिक वनका विषयमा जानकारी गराउनुभएको थियो । मोरङका सञ्चारकर्मीहरु सहभागी सो कार्यक्रम अन्तरगत वनको फिल्ड भ्रमण पनि गराइएको थियो ।